विदेशिएका युवाहरुद्वारा गाउँमै विकास

0
52

सौर्य अनलाइन
२०७५ कार्तिक २५ गते १४:५३ मा प्रकाशित

गलेश्वर । म्याग्दीका विभिन्न गाउँबाट रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका युवाहरूले गाउँगाउँमा विप्रेषणसँगै विकास पनि भित्र्याएका छन् । जिल्लाको बेनी नगरपालिका ३ भकिम्ली, रघुगङ्गा गाउँपालिका १ बेग र अन्नपूर्ण गाउँपालिका ५ किन्दुबाट रोजगारी र पेशा व्यवसायका लागि विभिन्न देशमा पुगेका युवाहरूले घरमा रूपैयाँका साथै गाउँमा विकासका पूर्वाधारहरू पनि भित्र्याएका हुन् ।

भकिम्लीबाट विदेशमा गएका युवाहरूको पहलमा भकिम्ली गाउँमा करीब तीन करोडको लागतमा सुविधा सम्पन्न भव्य विद्यालय भवन निर्माण भएको छ । म्याग्दीकै नमूना विद्यालय भवन मानिएको भूकम्प प्रतिरोधी सो भवन निर्माणका लागि प्रवासी भकिम्लेलीहरूले दुई करोड ५० लाखभन्दा बढी सहयोग गरेका छन् भने साविकको जिल्ला शिक्षा कार्यालय र नगरपालिकाले न्यून रकम लगानी गरेको छ ।

यसैगरी सोही वडाको राखुमा प्रवासीहरूको रु ३५ लाखभन्दा बढी लगानीमा कृषि सडक निर्माण भएको छ । यसका साथै सामुदायिक भवन र खेलमैदान निर्माणमा पनि प्रवासी भकिम्लीहरूले लगानी गरेका र उनीहरूको सहयोगबाट नै गाउँमा विकासको लहर छाएको बेनपा ३ का वडाअध्यक्ष पदम पुनले बताए । त्यसैगरी रघुगङ्गा गाउँपालिका १ बेगमा पनि प्रवासी स्थानीयवासीको पहलमा करोडौँ लगानीमा सडक, विद्यालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण भएको वडाध्यक्ष बिलबहादुर फगामीले बताए ।

देश र विदेशका विभिन्न शहरमा पुगेका बेगखोलावासीले बेगखोला कल्याणकारी समाज गठन गरी गाउँको विकासमा सहयोग जुटाउने गरेका छन् । पोखरा, काठमाडौँ, बेलायत, हङकङ, जापान, कोरिया, अमेरिका, कतार, बहराइन, सिङ्गापुरलगायत स्थानमा पुगेका बेगका बासिन्दा समाजमा आबद्ध भएका छन् । समाजको पहलमा रु एक करोड २५ लाख जुटाएर विसं २०७० मा छ किलोमिटर दुरीको बेगखोला देउराली नमूना हरित सडक र पाँच किलोमिटर दुरीको तिप्ल्याङ बादुक भिसी मार्ग निर्माण भएको वडाध्यक्ष फगामीले जानकारी दिए ।

बेगको तिप्ल्याङस्थित कालिका आधारभूत विद्यालयमा भिक्टोरिया क्रस प्राप्त स्व ऋषि पुनको स्मृतिमा बेलायती अभिनेत्री जोहोना लुम्लीको पहलमा विसं २०६८ मा १० कोठे पक्की कक्षाकोठा भवन निर्माण भएको थियो । विसं २०७२ मा बेलायतको ह्यान्ड्स टुगेदर तिप्ल्याङ परियोजनाको सहयोगमा थप पाँच कोठे भवन निर्माण भएको थियो । बेगखोला युवा क्लबको पहलमा विसं २०७३ मा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको रु १४ लाख ३४ हजारको सहयोगमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको थियो ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको ५ किन्दुका बासिन्दाले रु ५० लाख जुटाएर साढे छ किलोमिटर सडक निर्माण गरेका छन् । भौगोलिकरूपमा विकट र अत्यन्त दुर्गम क्षेत्रमा अवस्थित किन्दुमा यातायात सेवाको पहुँच पुर्याउन प्रवासी किन्दुवासीहरूको सहयोगमा सडक निर्माण भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए । विदेशी भूमिमा रातदिन मेहनत गरेर कमाएको पैसाबाट प्रवासी म्याग्देलीले आफ्नो व्यक्तिगत आर्थिक अवस्थामात्र राम्रो बनाएका छैनन्, उनीहरूकै पौरखका कारण म्याग्दीका कतिपय गाउँहरूको कायापलट भएको स्थानीय बासिन्दाले बताएका छन् ।

वैदेशिक रोजगारीमा जाने क्रम घट्दो

यसैबीच ‘लाहुरेहरूको जिल्ला’ म्याग्दीबाट पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरूको सङ्ख्या घट्दै गएको छ । देशमा सम्पन्न स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि आफ्नै गाउँठाउँमा नैै रोजगारी र समृद्धिको सम्भावना देखेर युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम घटेको हो । लामो समयको अस्थिर राजनीति र लगानीको प्रत्याभूति नहुँदा युवाहरूको विदेश मोह बढेको थियो ।
तर निर्वाचनपपछि स्थिर सरकार गठन भएसँगै स्वदेशामा नै रोजगारी पाइने आशाले वैदेशिक रोजगारीप्रति आकर्षण घटेको वैदेशिक रोजगारसँग सम्बद्ध व्यक्तिहरूले बताएका छन् ।
अब स्वदेशमै केही गर्नुपर्छ भन्ने महसुस भएको छ,’ बेनी नगरपालिका २ का रमेश कार्कीले भने, ‘जापान जाने सोच फेरेर यहीँ कृषि व्यवसाय गर्ने योजना बनाएको छु ।
त्यस्तै नगरपालिका ३ डाँडाखानीका झकबहादुर छन्त्याल गाउँमै स्वरोजगार उद्यमी बन्ने भन्दै अघिल्लो हप्ता स्वदेश फर्किनुभएको छ । गाउँका खाली जमीनमा सुन्तला खेती र पशुपालन गर्ने योजना बनाएर आफू युएईबाट घर फर्केको उहाँले बताउनुभयो । त्यसका लागि पूर्ण योजना बनाएर आएको छु,’ उनले भने ‘सदरमुकाम केन्द्रित अधिकार गाउँ पुगेपछि अब गाउँको विकास हुने अपेक्षा धेरैले गरेका छन् ।
जिल्ला प्रशासनको तथ्याङ्क हेर्ने हो भने पनि पछिल्लो समय विदेश जाने युवा घटेका छन् । राहदानी वितरणको तथ्याङ्कले युवा विदेश पलायन घटेको देखाएको हो । राहदानी फाँटका अनुसार गत आवको तुलनामा चालू आवको पहिलो चौमासिकमा राहदानी लिनेको सङ्ख्या घटेको छ । राहदानी लिनेको सङ्ख्या करीब १५ प्रतिशत घटेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले खाडी मुलुकमा रहेका युवालाई अबको ५ वर्षभित्र स्वदेश फर्काउने बताएका थिए । जिल्लामा अहिले ५ वटा जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । त्यसैगरी कालीगण्डकी कोरिडोर पूरा हुने क्रममा रहेको छ । कालीगण्डकी कोरिडोर निर्माणसँगै उत्तर दक्षिण सीधा यातायात सञ्चालन भएपछि रोजगारीका धेरै अवसर सिर्जना हुने युवाहरूको बुझाइ छ ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here