फाल्गुनन्द जन्मजयन्तीमा ३ स्थानीय तहमा सार्वजनिक बिदा

0
64

सौर्य अनलाइन
२०७५ कार्तिक २५ गते ७:१९ मा प्रकाशित

इलाम । नेपालका १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका दिन आइतबार इलामका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

किराँत धर्मका महागुरु फाल्गुनन्द लिङदेनको १३४औँ जन्मजयन्तीमा माङसेबुङ र फाकफोकथुम गाउँपालिका तथा माई नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । तीनै स्थानीय तहले आइतबार सार्वजनिक बिदा दिई विभिन्न कार्यक्रम गरेर फाल्गुनन्दको जन्मजयन्ती मनाउने भएका छन् ।

माई नगरपालिकाले नगरका विभिन्न ५ स्थानमा किराँत धर्मावलम्बीहरूको आयोजनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने भएको छ । यस्तै, माङसेबुङ गाउँपालिकामा भने वर्तमान किराँत धर्मगुरु आत्मानन्द लिङदेनको गुरुनिजी आश्रम कृषि उपसमितिको आयोजनामा माङसेबङ १ गजुरमुखीमा विभिन्न कार्यक्रम गर्नेछ ।

यस्तै, फाल्गुनन्दको जन्मस्थान माङसेबुङ २ इभाङमा पनि विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने तय गरिएको छ । फाकफोकथुम गाउँपालिकाले किराँत माङहिम संरक्षण समितिको आयोजनामा किराँत माङहिम रुपाटारमा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने तयारीमा जुटेको फाकफोकथुम गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईले सौर्यलाई जानकारी दिइन् ।

आइतबार गाउँपालिका र नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालहरूमा बिदा दिइएको सम्बन्धित स्थानीय तहले जनाएको छ ।

माङसेबुङ गाउँपालिकालाई लिङदेनको जन्मथलो, फाकफोकथुममा आश्रम बनाएर बसेको र देउमाई नगरपालिका वडा नम्बर २ को खत्रक्पामा ज्ञान हासिल गरेको स्थान माई नगरपालिकाको नजिक पर्ने भएकाले तीन वटै स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको माई नगरपालिका प्रमुख दीपककुमार थेवेले बताए ।

आइतबार देशभर विभिन्न स्थानमा कार्यक्रम गरी किराँत धर्मावलम्बीहरूले लिङदेनको जन्मजयन्ती मनाउनेछन् ।

यसैबीच, किराँत याक्थुङ चुम्लुङले समेत पूर्वका ९ जिल्लासहित उपत्यकाका ३ जिल्लामा विभिन्न कार्यक्रम गरी फाल्गुनन्द लिङदेनको जन्मजयन्ती मनाउने तय गरेको छ । त्यसका लागि सबै जिल्ला शाखा र नगर तथा गाउँ शाखालाई सर्कुलर जारी गरिएको किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन् ।

फाल्गुनन्दको जन्मजयन्तीमा पूर्वका विभिन्न जिल्लाका लिम्बू बाहुल्य भएका विभिन्न स्थानीय तहहरूले समेत आइतबार सार्वजनिक बिदा दिएका छन् । किराँत धर्मावलम्बीहरूले फाल्गुनन्दको जन्मजयन्तीमा सार्वजनिक बिदाको माग गर्दै आएको भए पनि नेपाल सरकारले भने सार्वजनिक बिदा दिएको छैन ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here