शिलान्यासको २१ वर्षपछि बन्यो कांग्रेस भवन

0
70

सौर्य अनलाइन
२०७५ कार्तिक २५ गते ६:४० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति काठमाडौंको भवन शिलान्यासको २१ वर्षपछि निर्माण भएको छ । देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसको जिल्ला कार्यसमिति काठमाडौंको भवन निर्माण सम्पन्न गर्न २१ वर्ष लागेको हो ।

‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास ०५४ सालमा भएको थियो । काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा निर्माण भएको चार तलाको १६ कोठे उक्त भवनको शनिबार १०४औँ गणेशमान जयन्तीका अवसरमा कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरे । २१ वर्षअघि यो भवनको शिलान्यास पनि उनले नै गरेका थिए ।

शिलान्यास भएको २१ वर्षपछि निर्माण सम्पन्न भएकाले कति खर्च लाग्यो भन्नेसमेत कांग्रेस काठमाडौंका नेतालाई थाहा छैन । सभापति कृष्ण सबुज बानियाँले यस अवधिमा धेरै जनाले जिल्लाको नेतृत्व सम्हालेकाले कति खर्च भयो भन्ने थाहा नभएको जानकारी दिए ।

‘भवन बनाउने स्रोत पार्टीसँग थिएन, नेता, कार्यकर्ता र शुभेच्छुकसँग सहयोग मागेर भवन सम्पन्न गरेका छौँ, निर्माणमा कति खर्च लाग्यो भन्ने सबै हिसाब किताब खोजेर मात्र भन्न सकिन्छ,’ उनले भने । भवनमा विद्युतीय पुस्तकालय पनि राखिने भएको छ ।

भवनको उद्घाटन गर्दै नेता सिंहले कार्यालय भवनमा विद्युतीय पुस्तकालय निर्माण गरिनुपर्नेमा जोड दिँदै विश्व परिवेशमा आउने नयाँनयाँ चिन्तन प्रविधिका माध्यमबाट नेपालीलाई जानकारी गराउने उद्देश्यले यस्तो पुस्तकालय आवश्यक भएको बताए ।

‘राजधानीमा महँगी र प्रदूषण बढ्दै गएको छ, यसका विरुद्ध काठमाडौं कांग्रसले दबाब दिने कार्यक्रम गर्नुपर्छ, केन्द्रकै मुख ताकेर बस्नुपर्दैन । पार्टी लोकतान्त्रिक तरिकाले चल्नुपर्छ, वैचारिक स्पष्टतासमेत जरुरी छ,’ उनले भने ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here