बहसः अमेरिकामा ह्यारीको विजय र नेपालमा समावेशीताको प्रश्न

0
79

नोभेम्बर ६ अमेरिकामा निर्वाचनको निर्धारित दिन हो । अमेरिकामा जति पनि निर्वाचन हुन्छन्, नोभेम्बर ६ का दिन हुन्छन् । जस जसको कार्यकाल जुन वर्ष सकिँदै जान्छ, त्यही वर्षको नोभेम्बर ६ मा खाली ठाउँको निर्वाचन हुन्छ । औसत निर्वाचन चक्र २ वर्षमा आउँछ । सन् २०१८ को निर्वाचन सन् २०१६ को राष्ट्रपति निर्वाचन, जसले डोनाल्ड ट्रम्पलाई जिताएको थियो, त्यसको २ वर्षपछि यसैसाता सम्पन्न भयो ।

यो निर्वाचन सिनेट, हाउस अफ रिप्रेजेन्टेटिभ, गर्वनर, हाउस अफ डेलेगेट्स र स्थानीय निकायको थियो । यो निर्वाचन नेपालमा यसर्थ चर्चामा रह्यो कि नेपाली मूलका ह्यारी भण्डारीले मेरीलैण्डको प्रदेशसभा ( हाउस अफ डेलेगेट्स) मा चुनाव जिते । नेपाली मूलको अमेरिकी नागरिक अमेरिकी राजनीतिमा अहिलेसम्मको सबैभन्दा ठूलो पदमा चुनाव जितेको रेकर्ड रहेछ यो ।

प्राप्त जानकारी अनुसार ह्यारीको नेपाली नाम हिराबहादुर भण्डारी हो । उनी नेपालको पर्वत जिल्लामा जन्मिएका थिए । अहिले पनि उनको औपचारिक कानुनी नाम हिराबहादुर नै छ । अमेरिकी उच्चारणमा उनी मिस्टर ह्यारी भए । ह्यारीका नामले मतदाताबीच परिचित र स्थापित भए । सन् २००५ मा मात्र उनी अमेरिका गएका थिए । त्यहाँ गएर उनले प्राध्यापन पेशा र डेमोक्र्याट्स पार्टीको राजनीति गरे ।

फेसबुकमा आएका प्रतिक्रिया

ह्यारी भण्डारीले मेरिलैण्डको हाउस अफ डेलेगेट्सको चुनाव जितेको खबर प्राप्त हुँदा नेपालमा लक्ष्मीपूजाको दिन थियो । भोलिपल्ट मैले एउटा फेसबुक स्टाटस हाल्दिएँ । जो यस्तो थियो–

‘ह्यारी भण्डारीले अमेरिकाको मेरिल्याण्डमा प्रदेशसभाको चुनाव जिते । नेपालमा पनि काठमाण्डौंमा कुनै मधेसी र मर्चवारमा कुनै शेर्पाले चुनाव जित्ने दिन आओस् । ५० हजार नसकांैला, हामी पनि बर्षको ५०० का लागि डीभी खोलौं । विविधता र समावेशीताले बहुआयामिक विकासमा मद्दत गर्छ । अररो राष्ट्रवाद पतनको बाटो हो । नेपालमा आएर कुनै अमेरिकनले चुनाव जितेको हामीलाई सोच्नै गाह्रो होला । अरु उदार हुँदा आफूले पाउने अवसरबाट खुशी हुने, अरुलाई अबसर दिनु पर्दा रुने संस्कार दरिद्रताको कारक हो ।’

फेसबुकमा गम्भीर स्टाटसहरु लेख्नु आफंैलाई हल्का बनाउनु हो भन्ने बलियो धारणा छ नेपालमा । यो धारणाअनुसार फेसबुक भनेको टीनएजर्सहरुले फोटो पोस्ट गर्ने, हल्काफुल्का चिजहरु पोष्ट गर्ने ठाउँ हो । धेरै मान्छेहरुले मलाई ‘मेनस्ट्रिम मिडियाले स्पेस दिइरहेको विश्लेषक, तैंले फेसबुक स्टाटस लेखेर आफ्नो वजन आफैं किन घटाएको, अब त्यसो नगर’ भन्ने सल्लाह दिने गरेका छन् ।

तर, म यो धारणासँग सहमत हुन सकिनँ र सक्दिनँ पनि । फेसबुक, ट्वीटर वा अरु कुनै सामाजिक सञ्जाल मेरा लागि अभिव्यक्ति र विचार विनिमयको माध्यम हो । माध्यम आफैंमा गम्भीर वा हल्का हुँदैन । त्यसलाई गम्भीर वा हल्का बनाउने त प्रयोगकर्ताहरुको स्तरले हो । ह्यारीको विजय मेरा लागि नेपालीहरुको मनोविज्ञान बुझ्ने एउटा राम्रो बाहना थियो, जसलाई नगुमाउनु नै राम्रो हुन्थ्यो ।

फेसबुकमा औसत स्टाटसमा लाइक आउँछन, खासै प्रतिक्रिया आउँदैनन् । लाइकभन्दा प्रतिक्रिया बढी महत्वपूर्ण हुन्छ, त्यो पनि समर्थन वा विरोधभन्दा आलोचनात्मक । यो स्टाटसमा भने अलि बाक्लै प्रतिक्रिया आए । तीमध्ये केही यहाँ उल्लेख गर्न चाहन्छु–

केशव कोइराला मेरा मित्र हुन् । स्कुल, कलेज पढ्दाका साथी । आर्थिक विकास र सुशासनसम्बन्धी हाम्रा सोचहरु मिल्छन् । तर, राष्ट्रियता, समावेशीता, पहिचान र संघीयताबारे हाम्रा धारणाहरु फरक छन् । उनी कमेन्ट लेख्छन्– ‘वर्षको ५ लाख बढी भारतीयलाई अंगीकृत नागरिकता अनअराइभल दिएकै छौं त ।’

हाम्रो मष्तिष्कमा किन भारत क्लिक गर्छ ?

लेखक

सम्भवतः यो इरिटेशन हो । नेपाल–भारत सम्बन्धको समस्याले हाम्रो ‘ग्लोबल एटिच्युट’ नै संकीर्ण बनाइदिएको प्रमाण यो प्रतिक्रियालाई मान्न सकिन्न । अन्यथा मैले यो स्टाटसमा कहीँकतै भारतको कुरा लेखेको छैन । मधेस मात्र लेखेको छु । मधेसको इस्युले हाम्रो मष्तिष्कमा किन भारत क्लिक गर्छ ?

हुनतः नेपालले डीभी खोल्ने कुरा अहिलेको सोचमा हाइपोथेटिकल होला । तर, यो असम्भव र सोच्नै नसकिने कुरा हैन । मानौं कि नेपालले विदेशीहरुको सीप, पुँजी, प्रविधि, भाषिक सांस्कृतिक विविधतालाई आकर्षित गर्न आवश्यक ठान्यो भने त्यसो गर्न नसकिने हैन । त्यो भारतका लागि मात्रै हुँदैन, संसारका २०० बढी सबै देशका लागि हुन्छ । तर, हाम्रो ध्यान शुरुवातमा भारतमै जान्छ ।

यहीँनेर बुटवलमा सुदन ज्ञवालीले सोधेका थिए । कोइरालाजीको सरोकारबारे तपाइँ के भन्नुहुन्छ ? मैले भनें– ‘मधेसको प्रश्नलाई हामीले भारतको पूर्वाग्रहबाट मात्र हेर्नु हुन्न । यदि हामीसँग योजना र इच्छाशक्ति छ भने नेपाल–भारत सम्बन्ध, सीमा र आप्रवासनलाई व्यवस्थित गर्न सक्छौं ।’

औसत यस्ता तर्क गर्ने मित्रहरुमा यो ज्ञान मैले कमै देखेको छु कि नेपालको मधेसमा भारतीय आउने मात्र हैन, नेपालीहरु पनि ठूलो संख्यामा प्रत्येक वर्ष भारत जान्छन् । यी वर्षको केही महिना मुम्बई जाँदा एउटै शहर नासिकमा करिब २५ हजार नेपालीहरु छन् भन्ने सुनेर म आफंै आश्चर्यचकित भएको थिएँ ।

तीमध्ये धेरैले त्यहाँ राजनीतिमा पनि भाग लिन्छन । भोटर पनि छन् । विभिन्न भारतीय पार्टीका जुलुसमा हिँड्छन । आफ्नै घरजग्गा भएका बिजेपी र शिवसेनाको पार्टी सदस्यता लिएका, रासन कार्ड बनाएका नेपालीहरु पनि मैले भेटेको थिएँ । रेलवे लगायत विभिन्न सरकारी दफ्तरमा पनि जागिर गर्छन् । भारतीय सेनामा गोर्खा रेजिमेन्टको कुरा भिन्नै भयो । रासन कार्ड लिएपछि भारतमा नागरिकतासरह हुने रैछ । बरु नेपालमा नागरिकता त्यति सजिलो छैन । सम्भवत् १९५० को सन्धी अनुसार यो अधिकार पाएका हुन् । यदि यो समस्या हो भने पुनरावलोकन गरौं ।

नेपालका कम्युनिष्टहरु बारम्बार यो सन्धी पुनरावलोकनको कुरा गर्दैछन् । बारम्बार सत्तामा आउँछन् । अहिले त उनीहरुसँग दुईतिहाई छ । नेपालको संविधानमा दुईतिहाईले सन्धी अनुमोदन वा खारेज गर्ने प्रावधान छ । यो सन्धी नेपालको अहितमा छ भने संसदको दुईतिहाईले एकतर्फी खारेजी गर्ने अधिकार राख्छ । तर, यसबारे नेपालमा कहिल्यै गम्भीर गृहकार्य वा छलफल भएको देखिन्न । यदि त्यसो गर्ने हो भने हामीले ती भारतमा बस्ने नेपालीहरुका बारे पनि सोच्नुपर्छ । उनीहरुको जीवनमा के असर पर्छ वा पर्दैन वा त्यसलाई कसरी व्यवस्थापन गर्ने, त्यो पनि सोच्नुपर्छ ।

विशेषतः पश्चिम नेपालबाट, त्यसमा पनि सुदुर पश्चिम र कर्णाली प्रदेशबाट ठूलो संख्यामा नेपालीहरु भारत जान्छन् । उनीहरुबारे पनि सोच्नुपर्छ । नेपालगन्ज र दाङबाट काठमाण्डौंबाट भन्दा धेरै यात्रुहरु बोकेर दिनहुँ दिल्ली बस त्यसै चलेका हैनन् होला । मैले त्यतिखेर पाएको जानकारी अनुसार महाराष्ट्रमा मात्र करिब १० लाख नेपाली छन्, तीमध्ये आधाजसोसँग भारतीय रासन कार्ड छ ।

नेपालको समावेशीताको सन्दर्भमा यो अहम प्रश्न हो कि ग्लोबल डाइभरसिटीलाई नेपालको विकास र समृद्धिको यात्रामा हामीले कसरी उपयोग गर्ने ? अबको युगमा कुनै पनि देश विश्वबाट एक्लो रहेर समृद्धि हासिल गर्न सक्दैन । कम्तिमा मेरो विश्वासमा सक्दै सक्दैन । तसर्थ हामीले हरेक ग्लोबल इस्युलाई केवल भारतसँग मात्र जोडेर हेर्नु हुँदैन ।

करिब ३ सय वर्ष अगाडि अर्थशास्त्री थोमस मुनले भनेका थिए– विश्वभरिको सुन, रत्न, नगद र आँट भएका भएका नागरिकलाई आफ्नो देशमा तान्न सक्ने देशले नै राम्रो प्रगति गर्नेछ । बेलायती साम्राज्यको विश्वव्यापी विस्तार र वेलायती समाजको विविधीकरणको एउटा कारण मुनको यो भनाई पनि थियो । नत्र भूगोल र जनसंख्याको हिसाबले त वेलायत कति नै ठूलो देश हो र ?

मेरो फेसबुक स्टाटसमा विनोदकुमार झा प्रतिक्रियामा लेख्छन– ‘अमेरिका र नेपाललाई एउटै बास्केटमा राखेर हेर्न मिल्दैन । नेपालमा तन्ना, च्यादर, बरफ, कवाडी बेच्न आउने सबैलाई नागरिकता दिएर भारत ज्ञानेन्द्रलाई हटाउन सफल भयो । ती सांसद, मन्त्री, मेयर, बडाध्यक्ष सबै भइसके । अब काठमाण्डौंबाट जिताएर प्रधानमन्त्री बनाउन मात्र बाँकी होला ।’

केशवजी र विनोदजी फरक समुदायका साथी हुन् । तर, उनीहरु दुबैको सरोकार एउटै देखिन्छ । केशवजस्तै विनोद पनि मधेसलाई भारतसँग जोडेर हेर्छन् । अर्थात् हाम्रो ‘ग्लोबल एटिच्यूट’ निर्माण नहुनुको एउटा कारण शुरुवातमै भारत बन्दोरहेछ ।

अर्का मित्र सञ्जयविक्रम अधिकारी लेख्छन् –‘मर्चवार क्षेत्रबाट पहाडी मूलका इन्द्रजीत शाह र भरत शाहले चुनाव जितेकै छन् । नेपालका पहिला राष्ट्रपति मधेसी हैन र ? सिराहाबाट प्रचण्डले जितेकै हुन् ।’

सम्भवतः सञ्जयजीको प्रतिक्रियाले हाम्रो मनको तुलो कता ढल्किएको छ भन्ने बुझ्न सजिलो बनाउँछ । शाहहरुले मर्चवारबाट चुनाव जित्नुसँग मेरो स्टाटसको कुनै सरोकार थिएन । त्यो झापाबाट ओली, मैनाली वा सिटौला, मोरङबाट कोइराला, आचार्य, वा रिजाल, रुपन्देहीबाट पौडेल, बोहरा वा भुसाल, बर्दियाबाट राणा वा गौतम वा कैलालीबाट मल्ल वा देउवाले चुनाव जित्नुभन्दा खासै फरक कुरा हैन । त्यो त अमेरिकाको जुनकुनै प्रदेशबाट गोराहरुले चुनाव जितेकै छन् भनेजस्तो हो ।

मैले भन्न खोजेको त काठमाण्डौंबाट थारु, पोखराबाट यादव, गोर्खाबाट मुस्लिमले चुनाव जित्ने दिन आउला कि नआउला भन्ने हो । अमेरिकामा ह्यारीको विजय यी दुईमध्ये कुन परिदृश्यसँग सादृश्य छ ? सायद मैले भनिरहनु पर्दैन । जुन दिन नेपालमा त्यो सम्भव होला, नेपाल अहिलेको भन्दा हजार गुणा बढी बलियो र आर्थिकरुपमा पनि समृद्ध हुनेछ भन्ने मेरो विश्वास छ ।

नेपाली राष्ट्रियताको भाष्य अद्यपि निर्माण भएको छैन

नेपालमा समृद्धिको एउटा आधार नै समावेशीता हो । समावेशीताले समृद्धिलाई जोड मात्र दिँदैन, गुणन गर्छ । समावेशी विकास सामान्य आर्थिक विकासभन्दा फरक अवधारण हो । त्यसका लागि त्यसको राम्रो उदाहरण दक्षिण अफ्रिका, क्यानाडा, अष्टे«लिया र सिंगापुरमा देख्न सकिन्छ ।

सिंगापुर केवल आर्थिक र भौतिक विकास गरेको मुलुक मात्र हैन, उत्तिकै समावेशी मुलुृक पनि हो । मलेसियन, चाइनिज र इन्डियन त्यहाँको आन्तरिक समावेशीताको कम्पोनेन्ट थिए । त्यसपछि अमेरिकीलगायत सम्पूर्ण बाँकी विश्वलाई पनि उनीहरुले आफूमा समावेश गरे ।

पशुपति आचार्य लेख्छन्– ‘यो अररो राष्ट्रवाद, कमलो राष्ट्रवाद, संग्लो राष्ट्रवाद, लंगडो राष्ट्रवाद, उग्र राष्ट्रवाद वा शुद्ध राष्ट्रवाद भनेको चाहिँ के हो ? नेपालमा कोही भारतीय, कोही अमेरिकी, कोही युरोपियन युनियनजस्ताहरुले सधैं जिते, वास्तविक नेपालीहरुले कहिल्यै जितेनन् ।’

सम्भवतः यो प्रतिक्रियाले दुईवटा पक्षलाई उजागर गर्छ । पहिलो– नेपाली राष्ट्रियताको सही मोडल वा भाष्य अद्यपि निर्माण भएको छैन । दोस्रो– राष्ट्रिय स्वार्थको प्रश्नमा हामीबीच गहिरो अविश्वास छ ।

यो निक्कै ठूलो अन्तर्विरोध हो कि व्यवहारले हामी ग्लोबल सिटिजन हुँदै गइरहेका छौं । उपेन्द्र महतो, शेष घले वा जीवा लामिछानेहरुले कमाएको पैसाको नेपालमा खुबै चर्चा र ईष्या हुन्छ । तर, उनीहरुले भोगेका परिस्थितिहरुबारे या त हामी बेखबर छौं, या संवेदनशील छैनौं ।

विदेशमा गएर पैसा, पद वा प्रतिष्ठा कमाउनुलाई नेपालमा अधिकांशले ईष्याकै विषय ठान्छन् । मानौं कि संसारका सबै देशका मान्छेहरु नेपालीहरु कहिले आफ्नो देश आउलान् र उनीहरुलाई धनी वा प्रसिद्ध बनाइदिउँला भनेर पर्खेर बसेका छन् । विश्व प्रतिस्पर्धाको जुनस्तरमा छ, अथक परिश्रम, तीक्ष्ण बुद्धि र कुशल अभ्यासविना नेपालीहरुले विश्वको कुनै पनि देशमा गएर सजिलै उन्नति गर्न सम्भव नै छैन । तथापि उनीहरुले त्यो गरेका छन भने त्यसका दुईटा अर्थ हुन्छन् । एक– कहीँ न कहीँनेर ती देश उदार छन् । दुई– नेपालीहरुमा विश्वस्तरको प्रतिस्पर्धालाई धान्न सक्ने क्षमता छ ।

आजसम्म उत्तर कोरिया पुगेर नेपालीले धन कमाएको उदाहरण छैन । यी दुईमध्ये एकको अभावमा त्यो सम्भव नै हुँदैन । तसर्थ यो ईष्याको हैन, गौरवको विषय हो ।
तर, अरु देशमा गएर नेपालीले गरेको उन्नतिबाट हामी खुशी हुन्छौं भने नेपालमा अरु देशका नागरिक वा नेपाल आएर काम गर्न चाहने ग्लोबल सिटिजनहरुप्रति हामी कस्तो धारणा राख्दछौं र व्यवहार गर्दछौं ? यो उत्तिकै महत्वपूर्ण विषय हुन्छ ।

दीपक बुढाथोकी लेख्छन्– ‘वर्षको ५०० विदेशका लािग नेपालले पनि डीभी खोलोस भन्ने भनाइ मनोगत हो ।’ ठीक हो, झटट् हेर्दा यो भनाइ सतही र मनोगत लाग्नु स्वाभाविक नै हो । तर, यहाँनेर ध्यान दिनुपर्ने गहिरो कुरा पनि छ– नेपालीहरु संसारका सबैजसो देशमा करिब १ करोडको संख्या छरिइसके, के अरु देशका मान्छेलाई नेपाल आउन मन लाग्दैन ? यहाँ बस्न मन लाग्दैन ? यहीँ प्रेम र विवाह हुन सक्दैन ? यहीँ बस्ने इच्छा उनीहरुमा जाग्न पाउँदैन ? यसका लागि १५ वर्ष तपस्या उनीहरुले गर्लान् ? १५ वर्ष मानव जीवनको कति लामो समय हो ? त्यो उत्पादनशील समयको करिब ५० प्रतिशत हिस्सा हो । संसारका अरु कुनै देशलाई नेपालीहरुसँग डर लाग्दैन, नेपाललाई चाहिँ अरु देशका नागरिकसंग किन डर लाग्छ ? के ती बाघ, भालु ह्वेल वा डाइनोसारजस्ता प्राणी हुन् कि ? नेपाललाई स्वात्तै निल्छन् वा दिनदिनै चिथोरिरहन्छन् ?

कुनै अमेरिकी केटीले विवाह गरेर नेपाली केटोलाई अमेरिका लगी भने नेपालमा खुशीयाली हुन्छ । पार्टी, भोजभतेर हुन्छ । नेपाली केटीहरुले अमेरिकी केटाहरुलाई प्रेम गरेर नेपाल ल्याउने अवसर नै कति पाउलान् ? प्रेम र विवाह नै भए पनि नेपालमा के त्यस्तो अवसर छ र उनीहरु नेपाल आएर बस्लान् ?

तर, नेपालको आधुनिक, सभ्य र लोकतान्त्रिक भनिएको संविधानले अंगीकृत नागरिकताको सवालमा महिला र पुरुषबीच सिधै विभेद गरेको छ । नेपाली पुरुषसँग विवाह गरेकी महिलाले विवाह गर्नेवित्तिकै नेपालको नागरिकता पाउँछे । महिलाले विवाह गरेको विदेशी पुरुषले १५ वर्ष पाउँदैन । संविधान भनेको राज्य र नागरिक बीचको सामाजिक सम्झौता हो । त्यो महिला र पुरुषले राज्यसँग गर्ने फरक–फरक सम्झौता हैन । नागरिक भन्नेवित्तिकै महिला, पुरुष र तेस्रो लिंगी सबै पर्दछन् । अनि यो संविधानलाई हामी कसरी नागरिक र राज्यबीचको सम्झौता भन्न सक्छौं ?

अझ रोचक कुरा त के छ भने गैरआवासीय नेपालीहरुलाई नेपालमा राजनीतिक अधिकारबाट बंचित गरिँदैछ । यसले पनि नेपालको समावेशीतालाई कमजोर बनाउने छ । शेष घले, उपेन्द्र महतो र जीवा लामिछानेहरुले नेपालको नागरिकता राखेका छन् कि छोडेका छन, ती देशलाई मतलव छैन, नेपालमा खुब मतलव छ । यस्तो संर्कीणताले हामी कसरी ग्लोबल सिटिजन हुन सक्छौं ? कसरी नेपालको समावेशीता बृद्धि गर्न सक्छौं ? कसरी नागरिकहरुको बहुआयामिक क्षमता र पहुँच विकास गर्न सक्छौं ? कसरी विदेशमा बस्ने नेपालीका लगानी नेपालमा भित्र्याउन सक्छौं ? कसरी ज्ञान, सीप, प्रविधि र पुँजीको आप्रवाहनलाई निर्वाध बनाउन सक्छौं ? यो त नेपालबाट एकपटक बाहिरिएपछि कि त्यो देशमा गएर उन्नति नगर, अलिअलि कमाएर कामदारकै हैसियतमा फर्क भन्न खोजिएको होइन र ? उद्योगी, व्यवसायी र धनी भइस् भने उतै बस, नेपाल नआइज भनेजस्तो भएन र ?

जनसंख्या सानो र समरुप हुँदा मात्रै अर्थतन्त्रको विकास हुने भए सम्भवतः नेपालमा सबैभन्दा बढी विकास कर्णालीमा हुनुपथ्र्यो । सबैभन्दा थोरै जनसंख्या कर्णालीमा छ । सबैभन्दा ठूलो भूभाग कर्णालीमा छ । जातीय तथा भाषिक विविधिता कर्णालीमा कम छ । सबैभन्दा बढी समरुप समाज कर्णालीमा छ । सबैभन्दा बढी प्राकृतिक स्रोतसाधन कर्णालीमा छ । तर, किन कर्णाली नै विकासमा सबैभन्दा कमजोर छ ?

कर्णालीमा किन विकास भएन ?

गत वर्ष सुर्खेत पुग्दा मैले केही सुर्खेतबासीसंग चियापसलमा गफ गर्ने अवसर पाएको थिए । त्यतिखेर प्रदेश सरकार गठन भएको थिएन । प्रदेश सरकार गठन भएपछि पहिलो काम के गर्नु पर्ला भनेर कसैले प्रश्न उठाएको थियो । मैले भने– ‘शुरुवातमा अरु प्रदेशबाट कर्णाली बसाई आउन चाहने करिब २ लाख जनसंख्यालाई ५ आना जग्गा निशुल्क घडेरी दिने, त्यसवापत उसले ५ वर्ष कर्णाली छोड्न नपाउने कार्यक्रम ल्याउँनुहोस् ।’ मेरो कुरा सुनेर त्यसबेला सबै गल्लल हाँसे । कसैले गम्भीरतापूर्वक लिएनन् । बरु एकजनाले व्यङ्गय गर्दै भनेका थिए– ‘तपाई पूर्वेलीहरुले देश सबैतिर खाइसक्नु भो, अब कर्णाली पनि खाने विचार गर्नु भो क्या हो ?’

अमेरिकीहरुले ठीक यस्तै सोच राखेको भए अमेरिकाले अहिलेको जस्तो प्रगति गर्ने थिएन । त्यसै अमेरिकालाई आप्रवासीहरुको देश भनिएको हैन । संसारका सबै देशको मष्तिष्क त्यहाँ पुगेको छ । सबै देशको भाषा संस्कृति त्यहाँ पुगेको छ । संसारका सबै देशसँगको सम्पर्क, सम्बन्ध र पहुँच त्यहाँ पुगेको छ । अनि न अमेरिका बनेको छ ।
विविधता र समावेशीतालाई हामी झर्कोका रुपमा लिन्छौं । तर, त्यो त मानव जातिका उत्कृष्टताहरुको संकेन्द्रण हो । ह्यारीले चुनाव जिते, त्यो पनि प्रदेशसभामा, त्यो ठूलो कुरा हैन । यदि अमेरिका उदार हुँदैनथ्यो भने त्यहाँ आइस्टाइन पुग्दैनथे । बाराक ओबामा जन्मिँदैनथे । फ्रान्सिस फुकियामा हुँदैनथे । ५० हज्जारले प्रतिवर्ष डीभी प्रवेशाज्ञा पाउँदैनथे ।

कर्णालीबारे मेरो बुझाई अहिले पनि त्यही हो । एक त कर्णालीमा जनसंख्या कम छ । भएको पनि ५० प्रतिशतभन्दा बढी श्रम गर्न भारत जान्छन् । त्यहीँ बस्ने जनसंख्याको पनि ज्ञान, सीप, क्षमता, रुचिमा विविधता, बहुआयामिकता आइसकेको छैन । राज्यले मात्र गरेर कर्णालीको विकास कहिले सम्भव होला ? कसरी सम्भव होला ? समावेशीताले समाजलाई विस्तार गर्ने हो । मानव जीवनलाई समृद्ध पार्र्ने हो । मान्छेको सोच्ने तरिकालाई फराकिलो बनाउने हो । फरक–फरक भाषा, संस्कृति, स्वाभाव र परिस्थितिसँग अन्तरक्रिया गराउने हो । मान्छेको सोच जति फराकिलो हुन्छ, त्यति नै समृद्धि सम्भव हुन्छ ।

मानौं कि हामी तिब्बती खाना हो भनेर मम खाँदैनथ्यौं भने ममको स्वाद र सजिलोपनबाट आफै बञ्चित हुन्थ्यौं । हाम्रै खानाको भेराइटी कम हुन्थ्यो । आज अधिकांश नेपाली पुरुषहरु सर्ट पाइन्ट लगाउँछन् । स्कुल, कलेज र सरकारी असिफको युनिर्फम नै सर्ट पाइन्ट छ । यो अंग्रेजको हो, हामी लगाउँदैनौं भनेको भए हाम्रै पोशाकको भेराइटी कम हुन्थ्यो । महिलाहरुले भारतीय वा पाकिस्तानी हो भनेर कुर्ता सुरुवाल लगाउँदैनथे भने फरिया र चौबन्दी बेरेरै स्कुल, कलेज वा जागिरमा जानुपथ्र्यो ।

नेपालमा कर्णाली र प्रदेश २ किन मानवीय विकास सूचकांकमा पछाडि छन् ? किनकि त्यहाँ सबैभन्दा बढी समरुप समाज र समावेशीता कम छ । प्रदेश ३, ४ र १ किन बढी विकसित छन् ? किनकि त्यहाँ सबैभन्दा बढी असमरुप समाज छ । असमरुप समाजमा विविधिकृत ट्यालेन्ट हुन्छ । त्यहाँ प्रतिस्पर्धा र सिर्जना हावी हुन्छ । समरुप समाजमा संस्कृति हावी हुन्छ । त्यहाँ रुढीवाद र एकलकाँटे सोचले स्पेश पाउँछ । धरान, इटहरी, बुटवल, पोखरा र काठमाण्डौंमा सम्भवतः सबैभन्दा बढी विविधिकृत बस्ती छ । विकास र अर्थतन्त्र पनि यही छ । यो कुरा सबै प्रदेश र शहरहरुले सिक्नुपर्छ ।

विविधताले फाइदा हुन्छ

भाषिक हिसाबले पनि प्रतिस्पर्धामा आउन ४-५ भाषा जान्नैपर्ने अन्यथा व्यक्तिगत जीवन सहज नहुने परिस्थिति आउँदैछ । भाषिक समावेशीता उत्तिकै आवश्यक हुँदै गएको छ । एउटा नेपालीले नै राम्ररी जिन्दगी चलाउन कम्तिमा ४ भाषा जान्नैपर्ने भएको छ । म सुनसरीको मान्छे हुँ । जिल्लामा स्थानीय समाजसँग अन्तक्र्रिया गर्न मैले पूर्वी थारु वा ठेटी मैथिली जान्नैपर्छ । जान्दछुु पनि । नजानिकन बचपनका सखा, हाटबजार, जनमेलापात, स्थानीय समुदायसंग राजनीतिक अन्तक्र्रिया सहज हुँदैन । नेपाली जान्नै पर्यो । अंग्रेजी जान्नै प¥यो । हिन्दी नजानिकन पनि हामी नेपालीहरुको जिन्दगी राम्ररी चल्दैन । यी ४ भाषा मैले मेरो जीवनमा समावेश गरें, त्यो मलाई फाइदा भो कि ती भाषाहरुलाई फाइदा भो ? मलाई लाग्छ, मलाई फाइदा भयो ।

यसरी समावेशीताले स्वयंलाई फाइदा गरिरहेको हुन्छ । तर, त्यो नबुझेर हामी समावेशीतालाई गाली गरिररहेका हुन्छौं । ह्यारी भण्डारीको जितले ह्यारीलाई पनि व्यक्तिगत फाइदा भएकै होला । तर, त्यो भन्दा ठूलो फाइदा मेरीलैण्ड र अमेरिकालाई हुन्छ । नेपाली समुदाय अमेरिका र मेरीलैण्डको विकास र सामाजिक क्रियाकलपाको मूलप्रवाहसँग जोडिन्छन् । ह्यारीको जितले नेपाली समुदायले त्यहाँ सुरक्षित महसुस गर्छन् । अमेरिकामा नेपालीहरुले आफूलाई जति सुरक्षित महसुस गर्छन्, त्यति नै त्यहीँ मन दिएर काम गर्छन् । कमाएको धन, त्यहीँ राख्छन् । नेपाल पठाउँदैनन् । त्यही अमेरिकालाई माया गर्न थाल्छन् । नेपाल बिर्सिन थाल्छन् । अब नेपाललाई फाइदा भयो कि अमेरिकालाई ?

पहिचान र समावेशीता एकअर्काका परिपूरक

नेपालमा समावेशीताको सम्म कुरा गर्दा मानिसहरु ठीकै मान्छन्, जब पहिचानको कुरा आउँछ, धेरैलाई ज्वरो आउन थाल्छ । यो पनि ठीक उल्टो सोचको परिणाम हो । जसरी समावेशीताले स्वयं समावेश गर्ने व्यक्ति, समाज र देशलाई फाइदा हुन्छ, पहिचानले त्यही गर्छ । तर, हामीलाई राजनीतिक पूर्वाग्रहका कारण गलत अर्थ बुझाइएको छ । अन्यथा पहिचान र समावेशीता एकअर्काका परिपूरक हुन् ।

समावेशीताले समाजको अन्तर्घुलनको माग गर्छ । अन्तघुर्लन भनेकै विविध पहिचानहरुको अन्तर्घुलन हो । पहिचान भनेको विविधताको संरक्षण हो । जब विविधता हुन्छ अनि समावेशीता हुन्छ, जब विविधता नै छैन, विविधता नै समाप्त भएर गयो, केको समावेशीता गर्ने ? तसर्थ विविधतालाई रक्षा गर्न पहिचान चाहिने हो । कुनै भाषा नै हरायो, कुनै संस्कृति नै हरायो, कुनै जातीय समुदाय नै हरायो भने के समावेश गर्ने ? के–केबीच अन्तर्घुलन गर्ने ?

जस्तो कि–तिब्बतियनहरुले मम खाँदैनथे, हामी नेपालीहरुलेभैंm भात नै खान्थे भने मम भन्ने परिकार कहाँबाट ल्याएर आफ्नो खानाको परिकारमा समावेश गर्ने ? मुला, गाँजर र टमाटरको खेती नै समाप्त भएर गयो भने के प्याजै प्याजको मात्र सलाद बनाउने ? त्यस्तो सलाद कति राम्रो देखिएला ? कति मीठो होला ? ह्यारी भण्डारीले जित्दा के अब मेरीलैण्ड नेपाल हुन्छ त ? अमेरिका नेपाल हुन्छ त ? हुँदैन । मेरिलैण्ड मेरिलैण्ड नै रहन्छ । अमेरिका अमेरिका अमेरिका नै रहन्छ । अमेरिकी र मेरीलैण्डबासीकै समावेशीता र सुन्दरता बढ्छ । अमेरिकाकै स्ट्रेन्थ बढ्छ ।

अर्थात् समावेशीताका लागि विविधताको संरक्षण चाहिन्छ । विविधताको संरक्षणका लागि पहिचान चाहिन्छ । अमेरिका संघीय मुलुक हो । पहिचानप्रति संवेदनशील मुलुक हो । नेपालीहरुले त्यहाँ गएर अमेरिकन नागरिकता लिने हुन । राजनीतिक, आर्थिक, सामाजिक, साँसकृतिक अधिकार पाउँने हुन । सबै हिसाबले अमेरिकन हुने हैनन् ।

उनीहरुले आफूलाई ‘नेपलिज अमेरिकन’ भन्न पाउँछन् । नेपालकै चाडवाड र संस्कारहरु मान्न पाउँछन् । नेपालीमै पत्रपत्रिका निकाल्न र बोल्न पाउँछन् । मान्छेको सार्वभौम स्वभावका हिसाबले ती नेपाली नै रहन्छन्, तर राजनीतिक अधिकारका हिसाबले मात्र अमेरिकन हुन्छन् ।

नेपालमा समावेशीता, पहिचान र संघीयताको मुद्दा बरालिनुको कारण यिनै सरल सत्यहरु नबुझ्नु हो । ह्यारीले अमेरिकामा चुनाब जित्नुलाई हामी राम्रो मान्छौं । राजेन्द्र महतोले जनकपुरमा चुनाव जितेको हामीलाई भित्रभित्रै मन परिरहेको हुँदैन । यो हाम्रो मनमा गडेर बसेको, हामीले राम्ररी नियालेर नहेरेको हाम्रो द्धैध चरित्र हो । राजेन्द्र महतोको जित नेपालको स्ट्रेन्थ हो ।

सुप, तरकारी र सलाद मोडेल !

नेपालमा चलेको राष्ट्रियता, पहिचान र समावेशीताको बहसलाई तीनवटा मोडेलमा हेर्न सकिन्छ । सुप, तरकारी र सलाद मोडेल । सुपमा धेरैबटा चिजलाई एउटै भाँडोमा हालिन्छ, यसरी घोलघाल पारिन्छ कि सुप तयार हुँदासम्म, त्यसमा के के मिसाएको थियो चिन्न गाह्रो हुन्छ । तरकारी भिन्नाभिन्नै पकाइन्छ केको तरकारी हो सजिलै चिनिन्छ । सलादमा भिन्नभिन्न चिज चिनिन्छ पनि तर एउटै प्लेटमा सजेका हुन्छन ।

संभवत् नेपालमा महेन्द्रीय राष्ट्रवाद भनेको सुप राष्ट्रवाद हो । ओलीज्मले त्यसलाई जोगाउँन खोज्यो तर सकेन, त्यो अहिले मिक्सकरी जस्तो भएको छ । क्षेत्रीयतावादी दल विशेषतः मधेसकेन्द्रित दलहरुले तरकारीको भिन्नाभिन्नै कराहीजस्तो बनाउँन खोजे । तर, ओलिज्मसँग हार मानेर मिक्सकरी मोडेलतिरै ढल्किए । वास्तवमा हामीले बनाउँनु पर्ने चाहिँ सलादको थालीजस्तो थियो । त्यो हुन सकेको छैन ।

नेपालका धेरै भाषा, संस्कृति र जातीय समूहहरु लोपोन्मुख छन् । त्यसको घाटा नेपाललाई नै हुन्छ । शेर्पा भन्ने जाति नै नासिएर गयो भने सगरमाथामा यति धेरै रेकर्ड नेपालको नाममा बन्ने छैन । नत नाम्चे र लुक्लामा पर्यटन व्यवसाय व्यवस्थापन गर्न सहज हुन्थ्यो । कुनै भाषा हराउँदा कुनै भाषा मात्र हराउँदैन, हज्जारौं हजार वर्षको मानवीय इतिहास, सम्पदा, संस्कृति, ज्ञान र सीपहरु हराएर जान्छन् । त्यो घाटा नेपाललाई नै हो । तसर्थ मौलिकताहरुको रक्षा पनि गर्नु पर्छ । अन्तर्घुलन र समावेशीता पनि हुनुपर्छ । यी दुई चिजबीच गतिशील सन्तुलन हुनुपर्छ ।

तर, हाम्रो संघीयतालाई त्यो मोडेलमा जान दिइएन । प्रदेशहरु यसरी बनाइएका छन् कि प्रादेशिक भाषा व्यवस्थापन गर्न नै गाह्रो छ । पुराना नामहरु हराउँदै गएका छन् । प्रदेश नम्बर ७ ले आफूलाई डोटी, बैतडी, अछाम, खप्तड भन्ने आँट गरेन । ‘सुदुर पश्चिम’ भन्यो । पहिचानबारे मान्छेहरुमा कति ठूलो हीनताभाष सिर्जना गरिएछ भन्ने प्रमाण हो यो । यो जरुरी थिएन ।

हो, पहिचानका नाममा यो बीचका केही अतिवादी तर्क नआएका हैनन् । जस्तो– कि कुनै प्रदेशमा स्थानीय थातथलो खुलेको मात्र दुई कार्यकालसम्म मुख्यमन्त्री हुन पाउने । अरु जातिकाले रैथाने जातिको भन्दा दोब्बर कर तिर्नुपर्ने, नामाकरण जातीय समुदायकै नामबाट हुनुपर्ने आदि । जातीय समुदाय पहिचानको एकतत्व हो, अरु पनि तत्व छन् । जस्तो– भाषिक, सांस्कृतिक, भौगोलिक आदि ।

जस्तो कि लिम्बुवान खम्बुवान मानौं कि जातीय भयो रे । किरात त सांस्कृतिक पहिचान हो, त्यसमा किन आपत्तिनुपर्ने ? जस्तो कि सगरमाथा राख्न नाम राख्ने धेरैको धारणा भयो रे । त्यसैलाई चोमोलुङ्गमा भन्ने होे भने त्यो पनि भाषिक पहिचान नै हुन्छ, अर्थ पनि एउटै हुन्छ । मान्छेहरु यतिसम्म पनि स्वीकार गर्न नसक्ने गरी किन अररा भएका हुन् बुझ्न गाह्रो परिरहेको छ ।

खानामा पहिचान र समावेशीता स्वीकार गर्न गाह्रो नहुने । प्रविधिमा पहिचान र समावेशीता स्वीकार गर्न गाह्रो नहुने । पोशाकमा पहिचान र समावेशीता स्वीकार गर्न गाह्रो नहुने । संस्कृति, भाषा र राजनीतिमा पहिचान र समावेशीता स्वीकार गर्न किन गाह्रो हुने ? नेपालको डिस्कोर्समा बुझ्न नसकिएको कुरा यही हो ।

#OnlineKhabar

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here