विचारः प्रधानमन्त्रीलाई पत्रु बनाउने बालुवाटारका दुई घेरा

0
67

प्रधानमन्त्री र मन्त्रीहरुका गफमा बाहेक यो सरकारले जनता र नेकपाका कार्यकर्तालाई उत्साही बनाउने कुनै काम अघि बढाउन सकेन । विपक्षीको कुरा छाडौं, आफ्नै पार्टी पंक्तिले प्रतिरक्षाका लागि उभिने ग्राउण्ड भेटेको छैन । सरकार गठनका शुरुवातमा यातायातमा सिण्डीकेट र विकास निर्माणमा लापरवाही गर्ने ठेकेदारमाथि कारवाही थालेर सरकारले उत्साहपूर्ण शुरुआत गरेकै हो ।

यी दुवै कामको बिरोध गर्दा प्रमुख विपक्षी नेपाली कांग्रेस जनतामा झन् नांग्एिको थियो । तर सरकारका काम कारवाही बिस्तारै सुस्ताए वा बाटो बिराए । अहिले सिण्डिकेट पनि पूर्ण रुपमा अन्त गर्न सकेन । ठेकेदारमाथिको कारवाही पनि रोकियो । तत्काल गर्ने भनिएका कुनै काम भएनन् । ठूला विकास निर्माणको परिणाम त केही समयमा मात्र आउछ तर तत्कालीन काम पनि भएनन् ।

जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने काम केही गर्न सकेन । मूल्यबृद्धिले सरकारलाई चुनौति दियो । ठूलो अपेक्षा गरेको सरकारबाट सानो काम पनि नहुँदा जनता र कार्यकर्तामा निराशा छाएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कार्यकर्तालाई अरिंगाल बन भने पनि बारुला बन भने पनि सरकारको कामै यस्तो छ भने कार्यकर्ता कोमाथि जाइलाग्न जाने ?

हुन त नेकपाका अर्का अध्यक्ष प्रचण्डले चाँडै पार्टी एकीकरणको काम टुंगो लगाएर सरकार र पार्टीको विरुद्ध चलाइएका दुस्प्रचारलाई एकै अभियानबाट धूलोपिठो बनाउने भनेका छन् । तर जबसम्म सरकारले केही काम गर्दैन तबसम्म यस्तो अभियान आफ्नै लागि प्रत्युत्पादक हुनसक्छ ।

त्यसैले पार्टीले पहिले सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन कामको योजना बनाउओस । नत्र प्रचण्डको अभियान ओलीविरुद्ध लागेको आरोपलाई अन्यत्र मोड्ने अस्त्रमात्र मानिने छ । किनकि ओलीको राजनीतिक चरित्र नै त्यस्तै छ । आफ्ना कठोर आलोचकलाई समर्थक बनाउने कला उनमा छ । तर, जनताले चाहेको त्यसो होइन ।

अन्यथा नलिने हो भने प्रधानमन्त्री केपी ओलीका पछिल्ला अवधिका राजनैतिक घटनाक्रम अनपेक्षित देखिन्छन् । चरम विरोधीलाई आफ्नो समर्थक वा आफ्नो नजिक बनाउन सक्नु उनको विशेषता नै हो । ०५५ सालमा तात्कालीन एमालेको विभाजनमा प्रमुख कारणमध्ये केपी ओली र वामदेव गौतमबीचको शत्रुतापूर्ण लडाइँ पनि थियो ।

पछि गएर त्यो शत्रुतापूर्ण सम्बन्ध ओलीले आफ्नो राजनीतिको फड्को मार्ने विन्दुमा नजिकको मित्रतामा परिणत गरे । छैठौं महाधिवेशनमा माधव नेपालको रक्षाकवच बनेका ओली सातौं महाधिवेशनमा बामदेवको समर्थन लिएर नेपाल विरुद्ध जनकपुरमा उभिए ।

माओवादीले प्रमुख दुश्मनमात्र होइन, पागलसमेत समेतर ३१ दलको बैठकमा निर्णय गराउन तात्कालीन प्रचण्डको निर्णय ने.क.पा. निर्माण गर्ने ठाउँमा पु¥याएर एक अर्काका परिपूरक हुने ठाउँमा पु¥याए ।

शक्तिशाली सरकारको नेतृत्व गरेर शक्तिशाली बनेका ओलीको उदयसँगै लामो समयदेखिको राजनैतिक खिचातानिले नकारात्मक सोचको विकास भएको नेपाली समाज र नेपालप्रतिको विश्व समुदायको दृष्टिकोण सकारात्मकता तर्फ अगाडि बढिरहेको अवस्थामा सिङ्गो सरकार र प्रधानमन्त्री ओलीप्रति नै नकरात्मक सोच विस्तारै विकास हुन थालेको छ ।

हिजो पहिलो प्रधानमन्त्रीकालमा ओलीले जगाएको विश्वास र देखाएको सपनाले दोस्रो पटक शक्तिशाली सरकार निर्माण गर्न मद्दत पुगेकोमा उनको सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाबाट प्रस्तुत बजेट भाषणले निराश बनाएको थियो । तर, त्यो केवल राजनीतिक वृत्तमा मात्र थियो । त्यसपछिको उनको काम गराइ, उनका मन्त्रिपरिषदका सदस्यका प्रस्तुति तथा सरकारको डेलिभरीले जनतामा निराशा जगाएको छ ।

सत्ता र शक्ति भन्ने चिज नै यस्तो हो । उसलाई आफूले जे गरे पनि धेरै राम्रो गरें भन्ने भान हुन्छ । जसरी संयुक्त राष्ट्र संघको महासभामा विश्वका शक्तिशाली राष्ट्र अमेरिकाका शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वका सबै शक्तिशाली सरकारका प्रमुखका अगाडि हाँसोका पात्र बनें, नेपाली जनता र बौद्धिक समुदायसामु प्रधानमन्त्री ओली आज त्यही स्थितिका सामुन्ने पुग्न थालेका छन् ।

नेपोलियन बोनापार्ट रोम विजय गरेर पेरिस फर्कंदा १० औं लाख मानिस उनको स्वागतमा जम्मा भएका थिए । त्यतिबेला उनका अंगरक्षकले “हजुर त कति महान, यत्रा मानिस हजुरको स्वागतमा जम्मा भएका छन्” भन्दा नेपोलियनले “मूर्ख, भोलि यहाँ मलाई फाँसी दिइयो भने योभन्दा धेरै मानिस जम्मा हुन्छन्” भनेर जवाफ फर्काएका थिए । सत्ता र शक्तिको वरिपरि रहने र रहन पल्केकाहरुको काम भनेको त्यो सत्ता र शक्तिलाई अनेकांै भए नभएका फूलबुट्टा भरेर मख्ख पार्ने हो ।

आज प्रधानमन्त्री ओली दुईवटा आत्मकेन्द्रित समूहको घेरामा छन् । एउटा घेरा नेपालको सत्ता शक्तिको स्थायी घेरा हो । जसलाई माफियाभन्दा पनि केही फरक पर्दैन । उनीहरुको काम भनेको शक्तिलाई आफ्नो स्वार्थको घेरामा राख्ने र आफ्नो अनुकुलको निर्णय गराउने । अर्को घेरा भनेको आफ्नो आसेपासेको घेरा हो । जुन घेराको काम भनेको प्रधानमन्त्रीलाई तपाई महान् हुनुहुन्छ, पृथ्वीनारायण शाह र महेन्द्रपछि नेपालको इतिहासमा तपाई हो, अब तपाईभन्दा माथि यो नेपालमा कोही छैनन् भनेर चाकरीको भाषाले घेराबन्दी गरिरहेका छन् ।

लेखक

यहाँ यो कुराले अवश्य पनि ती उल्लेखित पात्र र प्रवृत्तिलाई रीस उठ्ला वा शक्तिशाली सरकारका पात्रहरुलाई जवाफ आउला, तर नेपोलियन बोनापार्टको भनाईलाई मनन गर्नु उपयुक्त होला ।

राज्यका तीनमध्ये दुई अंगमा नेकपाको बलियो नेतृत्व छ । न्यायपालिका आफैंमा स्वतन्त्र हुने भएकलो त्यसको कुरा भएन । प्रत्यक्ष नेतृत्व रहेको दुईवटा संस्थाको सम्बन्धमा खुलेआम प्रत्यक्ष विरोध गर्न पाइन्छ भने न्यायपालिकाका सम्बन्धमा अप्रत्यक्ष विरोध भए पनि त्यसको पनि औकात सतहमा देखिएको छ ।

बिहानीले दिउँसोको भविष्यवाणी गर्छ भनेझैं प्रधानमन्त्री र उनको सरकारको गतिविधिले त्यही संकेत गरेको छ । उनको सरकारका मन्त्रीहरु र उनका सहयोगीहरु सरकारलाई घेराबन्दीमा पारियो, काम गर्न दिइएन भनिरहेका छन् । संसदमा एक चौथाई पनि उपस्थिति नभएको प्रतिपक्षको आवाजलाई घेराबन्दी गरियो भन्ने भनाइ माध्यामिक तहको नेपाली विषयमा “कालु र बाघ” भन्ने शीर्षकको कथा पढे जस्तै हो । यो दुई तिहाईसहितका शक्तिशाली प्रधानमन्त्री र त्यो सरकारका मन्त्री तथा समर्थकलाई त्यो भन्ने छुट छैन ।

उनीहरुले यो विगत सरकारको जस्तो निरन्तरता होइन भन्ने ज्ञान हुनु जरुरी छ । विगतमा जिम्मेवारी पाइसकेकालाई जिम्मेवारी दिँदा उसले त्यो संस्था वा जिम्मेवारी पूरा गर्दा संस्था वा त्यो जिम्मेवारीले त्यो संस्थाको गति के भयो भनेर मूल्यांकन गर्न जरुरी थियो वा थिएन ? अथवा गर्नुपर्छ, पर्दैन ? त्यस्ता व्यक्तिलाई नजिकबाट चिन्ने जान्नेलाई दिने उत्तर के हो ? नेपाल दुर सञ्चार प्राधिकरणमा दिगम्बर झा लाई नियुक्ति दिदाँ उठ्ने प्रश्न पदमा बसेर सोच्ने फुर्सद थियो वा थिएन ?

“सुखी नेपाली र समृद्ध नेपाल” भन्ने सपना देखाउँदा सपनालाई विपनामा बदल्ने अनुसारको काम र पात्र आवश्यक पर्छ कि पर्दैन ? तात्कालीन नेकपाएमाले र त्यसको संगठन, जुन संगठनको आधार र नेता कार्यकर्ताको बलमा शक्तिशाली पद प्राप्त गर्दा तिनले उठाएका आवाजलाई दबाउन मिल्छ ? जनताको आवाज सुनाउन नेता कार्यकर्ताले प्रधानमन्त्रीलाई भेट्न पाउँदैन ? भेट्न जाँदा घन्टौं कुर्नुपर्ने अवस्था छ ।

अर्कोतिर पार्टी निर्माणमा कुनै योगदान नभएका राज्यशक्तिलाई माफियाकरण गर्ने व्यक्ति र तिनका समूहको सहज पहुँच र घेरा प्रधामन्त्रीलाई देखिन्छ । सोही घेरावन्दिको स्वार्थ अनुसार राज्यका नीतिगत निर्णय र नियुक्ति हुँदा त्यस्तो निर्णय र त्यसका आधारमा हुने काम कार्यको विरोध गर्न पाइने कि नपाइने ? अहिले उठेको प्रश्न यत्ति नै हो ।
हाल प्रधानमन्त्री केपी ओलीका वरिपरि रहने किचेन क्याबिनेटका व्यक्तिहरुले सरकार र प्रमलाई घेराबन्दीमा पारियो, सरकारलाई असफल पार्न खोजियो, काम गर्न दिइएन भन्दैछन् । यी सबै काम तिनै व्यक्तिहरुले गरिरहेका छन्, जसले नाँच्न नजानेपछि आँगन टेढो देख्छ रे । सरकार चलाउन नजान्ने वा प्रधामनन्त्रीको स्पिरीटमा चल्न नजान्नेले सरकारलाई अप्ठेरोमा पारियो भन्नु त्यही हो । वास्तवमा प्रधानमन्त्रीलाई पत्रु बनाउने दुई घेरा बालुवाटारभित्रै छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री भएदेखि हालसम्मको तपाईका किचेन क्याबिनेटमा रहनेहरु र तपाईले प्रयोग गर्ने फोनको रेकर्ड मगाएर समीक्षा गर्नुस । उनीहरुले कति समय, कति व्यक्तिलाई भेट्न र कुरा गर्न खर्चिएछन् ? समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा सफल पार्न कति छलफल गरियो ? तपाईको पार्टीका नेता तथा कार्यकर्ता, सांसदलाई कति समय दिनु भो ? यहीँबाट समीक्षा गर्नोस् ।

जब प्रधानमन्त्रीको मुख्य सचिवालय नै गलत ढंगले चल्छ भने त्यसले सरकारलाई सफल बनाउन सक्दैन । आज देशका नाम चलेका बिचौलिया र माफियाहरुको लागि प्रधानमन्त्री निवासको ढोका चौबिसै घण्टा खुला छ । किनकि प्रधानमन्त्री मध्यराति पनि काम गर्नुहुन्छ । तर, प्रधानमन्त्रीलाई साँच्चिकै सफल बनाउन चाहने नेता कार्यकर्ता र पार्टीका शुभेच्छुकका लागि बालुवाटारमा अघोषित प्रतिबन्ध छ ।

ओली असफल भए पनि बिचौलिया माफिया र दलाल पुँजीवादका रक्षकहरुलाई कुनै असर गर्नेवाला छैन । किनकि उनीहरु त जो सत्तामा आयो, उसकै हुने हुन् । तर, ओली र अहिलेको सरकार असफल हुँदा त्यसको सजायँ सिंगो मुलुक, नेपाल कम्युनिस्ट पार्टी र जनता कार्यकर्ताले भोग्नुपर्नेछ । त्यसैले पनि ओलीले फराकिलो भएर सोच्नुहोस् । कहीँ न कहीँ तपाईलाई जनता र कार्यकर्ताबाट अलग गरिँदैछ ।

प्रधानमन्त्रीलाई प्रभावित पार्ने र पत्रु बनाउने दुई घेरा तोड्न आवश्यक छ । ठूला ठूला निर्णयमा प्रभावित पार्ने बिचौलियाको घेरामा को को छन् सबैले सहज अञ्दाज गर्न सक्छन् । ठूला–ठूला नियुक्तिदेखि ठूला ठेक्कापट्टाहरुमा कसको प्रभाव चल्छ ? केही सीमित पात्र औंला गन्ने हो भने चार पाँच जनाले सिंगो देशको अर्थतन्त्रलाई प्रभावित पार्ने गरी सरकारलाई प्रयोग गरेका छन् ।

नेकपा उपनेता सुवास नेम्वाङले प्रयोग गर्ने शब्द जस्तै उनीहरुको नाममात्रै यहाँ उल्लेख नगरौं, तर अनुहार झल्झली आइरहेकै छ ।

किचन क्याबिनेटमा रहने केही पात्रहरु, जो पार्टी र जनतामा अलोकप्रिय छन्, तर प्रधानमन्त्रीका प्रिय छन् । उनीहरु नै हुन् प्रधानमन्त्रीलाई जनता र कार्यकर्तासँग टाढा बनाउने र नेपोलियन बोनापार्टलाई उनका अंगरक्षकले भने जस्तै हजुर महान भनेर घेरेर राख्ने ।

ओलीले यी दुवै प्रवृत्तिलाई चिनेर पनि बाहिरिन नसकेको हो भने उनका लागिमात्र होइन, देशकै लागिसमेत र्दुभाग्य हो ।

(अधिवक्ता थपलिया नेकपासँग आवद्ध छन्)

#OnlineKhabar

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here