पौरखले जित्यो गरिबीलाई

0
74

गलेश्वर । आजभन्दा ४० वर्ष पहिले गरिबीका कारण के खाउँ र के लाउँको अवस्थामा रहेका एक व्यक्ति न विदेश पलायन, न कुनै जागिर न त उद्योग व्यवसाय सञ्चालन गरेर करोडपति बनेका छन् । म्याग्दीको बेनी नगरपालिका २ खवराका चन्द्रबहादुर कार्की विदेशी भूमिमा होइन आफ्नै खेत खलोको माटोमा मेहनतका पसिना बगाउँदै करोडपति बन्न सफल बनेका हुन् ।

विसं २०३४ मा १८ वर्षको उमेरमा विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ रु एक हजारको लगानीबाट कृषि पेसा शुरु गरेका कार्की अहिले एक करोडभन्दा बढी सम्पत्तिको मालिक बन्न सफल भएका छन् । सँगै पढेका साथीहरु अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगायत निजामती सेवाको उच्च तहमा पुगे पनि कार्कीको प्रगति देखेर उनीहरु पनि आश्चर्यचकित भएका छन् । उनि अहिले जिल्लाको नमूना कृषकका साथै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा पनि चिनिएका छन् ।

आफ्नो १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारीखेती गरेका कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषकसमेत रहेका छन् । उनको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायत फलफूल लहलह झुलिरहेका देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घरवरपर राखेका मौरीका घारमा रहेका मौरी र माछापालनबाट पनि कार्कीले मनग्य आम्दानी गर्दै आएका छन् ।

मैले १८ वर्षको उमेरदेखि तरकारीखेती शुरु गरेको हुँ” कार्कीले विगत कोट्याउँदै उनले भने, “त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै प्रस्ताव आएका थिए तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेसा शुरु गरेँ, अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ ।”

तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले बेनी बजारको मङ्गलाघाटमा घडेरी किनेर घरसमेत बनाइसकेको र बेनीमै अर्को घडेरीसमेत किनिसकेका छन् । कृषिबाट मात्र वार्षिक रु १२ लाखभन्दा बढी कमाइ हुने बताउने कार्की दैनिक तीन लिटर दूधसमेत बिक्री गर्नाका साथै गाउँमा र बेनीको मङ्गलाघाटमा दुई वटा पसलसमेत सञ्चालन गरेका छन् ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here