च्याउ खेतीले बिर्सायो विदेशको दुःख

0
63

२४ कात्तिक, नेपालगञ्ज । परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे । छ वर्ष कुवेतको गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा पैसा बाँकी रहेन ।

खजुरा गाउँपालिका–३ गाउँका सुनारले छ वर्षअघि आफ्नै गाउँमा च्याउ खेती शुरु गरे । स्वेदश र विदेशमा काम गरेको बराबर समय, उस्तै मिहिनेत ।

उनलाई स्वदेश मै आम्दानी र सन्तुष्टि मिल्यो । १६ हजार रुपैयाँबाट च्याउखेती शुरु गरेका सुनार अहिले व्यावसायिक च्याउ खेतीमा रमाएका छन् । उनको लगानी अहिले एक करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

जिल्ला कृषि विकास कार्यालयको युवा लक्षित कार्यक्रम अन्तर्गत ६० हजारबाट तरकारी खेती शुरु गरेका सुनारले २०६९ सालमा टहरा बनाएर १६ हजारको लगानीमा च्याउ खेती शुरु गरेका थिए । शुरुमा १२० पोकाबाट च्याउखेती शुरु गरेका उनले दुई वर्षअघि एसियाली विकास बैंकबाट २९ लाख ६४ हजार आर्थिक सहयोग पाए । “लक्ष्मी बैंकबाट ३५ लाख ऋण लिएँ”, उनले भने, यसले च्याउखेती विस्तारमा सहयोग पुगेको छ ।”

विदेशको दुःख सम्झेर आफ्नै देशमा केही गर्छु भनेर फर्किएको उनले सुनाए । “अर्काको बन्धनमा बसेर काम गर्नु र आफ्नो मनले काम गर्नु धेरै फरक रहेछ,” उनी भन्छन् ।

टहराबाट च्याउखेती शुरु गर्नुभएका सुनारले दुई वर्षअघि पक्की संरचना बनाएका छन् । अहिले च्याउ लगाउनका लागि आठ वटा ठूला कोठा निर्माण गरिएको छ । पराल राख्ने, पखाल्ने, पकाउने छुट्टाछुट्टै उपकरण र ठाउँ तयार गरिएको छ ।

उनले छोराका नामबाट श्यामसुन्दर च्याउ उद्योग फर्म दर्ता गराएका छन् । च्याउ फर्ममा पाँच जनाले नियमित रोजगारी पाएका छन्  भने चाउको उपयुक्त समयमा २० जनाभन्दा धेरैले काम पाउँछन् ।

आवश्यकताअनुसार दैनिक कामदार लगाउने गरिएको छ । फर्ममा कन्य च्याउको उत्पादन गरिँदै आएको भएपनि यस वर्षदेखि गोब्रे च्याउको पनि उत्पादन शुरु गर्ने सुनारले बताए । च्याउको सिजन शुरु भइसकेको छ । विगतका वर्षमा दैनिक तीनदेखि पाँच क्विन्टलसम्म च्याउ बेचेका सुनारले यसवर्ष बढाउने लक्ष्य लिएका छन् ।

उत्पादित च्याउको बजारका लागि कुनै समस्या छैन । यहाँको च्याउले नेपालगन्ज, कोहलपुर, धनगढी र सुर्खेतसम्म बजार पाएको छ ।

व्यावसायिक च्याउ खेती गरिरहँदा सुनारलाई विभिन्न समस्या पनि नपरेका होइनन् । “२०७३ सालमा खोर नै सखाप थियो । रु १७ लाखको लगानी खेर गयो तर हिम्मत हारिन, उनले भने “साथीभाइको साथले फेरि शुरु गरें ।”

समस्या आए पनि काम गर्छु भन्ने आत्मविश्वास भए र मिहिनेत गरे कृषिकर्ममा सफलता पाइने उनले सुनाए । उनले भने, हिजो १०-१५ हजारका लागि अरूसँग हात जोड्नुपर्थ्यो र आज दुईचार लाख दिने मान्छे छन् ।”

सुनारले समूह, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रियस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाउनुभएको छ । “आफ्नो काममा खुसी र सन्तुष्ट छु”, सुनारले भने ।

#OnlineKhabar

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here