विदेशी र नेपाली ब्याट्सम्यानबीच पीपीएलमा देखिएको अन्तर

0
56

२१ कात्तिक, काठमाडौं । घरेलु टिम पोखरालाई विजेता बनाउँदै पहिलो पोखरा पि्रमियर लिग (पीपीएल) सम्पन्न भएको छ । रंगशालाको लोकेसन, मैदानको स्तर, दर्शकको उत्साह, प्रायोजकको साथ, खेलहरुको रोमाञ्च र टेलिभिजन लाइभ सबैतिरबाट पीपीएलको पहिलो संस्करण सफल नै रह्यो ।

पीपीएललाई पोखराको मौसमले पनि खुबै साथ दिएको थियो । खुलेको आकाशमुनि टिलिक्क टल्केको माछापुच्छ्रे हिमाललाई ‘पर्यवेक्षक’ बनाएर दुई सातासम्म चलेको क्रिकेट उत्सवले पोखरामा क्रिकेटको क्रेज राम्रैसँग बढाएको छ । अन्यथा यो क्रिकेटप्रेमीहरुको शहर होइन ।

यस प्रतियोगिताको व्यवस्थापनमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसमेत संलग्न देखिएका थिए । हालसम्म ब्याट र बलमा सीमित रहँदै आएका उनीहरुले यो प्रतियोगितामा आर्थिक लगानी गरेर नयाँ र सुखद अनुभव संगालेका छन् ।

अब कुरा गरौं खेल स्तरको ।

क्रिकेट खेलमा तीन पक्ष हुन्छन्, ब्याटिङ, बलिङ र फिल्डिङ । बलिङ र फिल्डिङ नेपालको पहिल्यैदेखि सशक्त हो भने ब्याटिङ पहिलेदेखि नै कमजोर । सफलताको खुड्किला उक्लिदै एकदिवसीय मान्यता पाउँदा पनि ब्याटिङ उल्लेख्य सुधार आएको छैन । केही समययता लगातार भइरहेका टी-२० लिगहरुको बाबजुद ब्याट्सम्यानहरुको स्तर खासै बढ्न सकेको छैन ।

पोखराको क्रिकेट मैदान ब्याटिङ फ्रेन्डली थियो । फास्ट र स्पिन दुवै बलिङलाई पिचले उति सहयोग गरेको थिएन । त्यसैले ब्याट्सम्यानहरुले खुलेर रन बटुल्न सक्थे । यस्तोमा केही विशाल स्कोरहरु बन्न सक्नुपर्थ्यो । अहिलेसम्म घरेलु टी-२० मा नदेखिएको शतकीय इनिङ देखिनुपर्थ्यो ।

तर, त्यस्तो भएन । कुनै टिमले २ सयको स्कोर कटाउन सकेनन् भने कुनै ब्याट्सम्यानले शतक हान्न सकेनन् । विराटनगरविरुद्ध पोखराले बनाएको एक सय ९७ रन प्रतियोगिताको सर्वाधिक स्कोर थियो । त्यसैगरी भारतीय ब्याट्सम्यान गौरव तोमरले हानेको ९५ रन सर्वाधिक व्यक्तिगत स्कोर थियो ।

नेपाली ब्याट्सम्यानहरुले एक वा दुई खेलमा राम्रो खेले पनि प्रदर्शनमा एकरुपता कसैको देखिएन । प्रतियोगितामा सर्वाधिक स्कोर गर्ने ५ ब्याट्सम्यानहरुको सूचीमा चार नम्बरसम्म विदेशी छन् ।

प्रतियोगितामा केही टाइट र रोमाञ्चक म्याचहरु भए । त्यसमध्ये सबैभन्दा स्मरणीय थियो धनगढीले पोखराविरुद्ध निकालेको जित । फाइनल म्याच पनि पछिल्लो दुई ओभरमा रोमाञ्चक बनेको थियो । चितवनले दिएको १ सय ६० रनको स्कोर पोखराका लागि निकै चुनौतीपूर्ण हुने मानिएको थियो ।

तर, भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले तुफानी इनिङ खेल्दै टिमलाई जितनजिक पुर्‍याएका थिए । १८ औं ओभरमा उनी आउट भएपछि फेरि एकपटक म्याच रोमाञ्चक बनेको थियो । अन्ततः ४ बल बाँकी छँदा पोखराले लक्ष्य भेट्टायो ।

विदेशीले धानेको ब्याटिङ

यो प्रतियोगितामा प्रत्येक टिमसँग दुई जना विदेशी खेलाडी अनुवन्धित हुनैपर्ने प्रावधान थियो । ब्याटिङ बलियो बनाउने उद्देश्यले सबै टिमहरुले २ विदेशीको कोटामा ब्याट्सम्यानलाई नै लिएका थिए । उनीहरुलाई के कति रकम खर्चेर भित्र्याइएको थियो भन्ने खुलेको छैन ।

तर, प्रतियोगितामा विदेशी ब्याट्सम्यानहरुको स्तर नेपाली ब्याट्सम्यानको भन्दा प्रष्ट उन्नत देखिएको छ । ६ वटै टिमको ब्याटिङ विदेशी ब्याट्सम्यानमा अत्यधिक निर्भर रहेका थिए ।

नेपाली ब्याट्सम्यानहरुले एक वा दुई खेलमा राम्रो खेले पनि प्रदर्शनमा एकरुपता कसैको देखिएन । प्रतियोगितामा सर्वाधिक स्कोर गर्ने ५ ब्याट्सम्यानहरुको सूचीमा चार नम्बरसम्म विदेशी छन् । उनीहरुमध्ये तीन जना (रविइन्दर सिंह, गौरव तोमार, सन्नी पटेल) भारतीय हुन् भने एक (मुहम्मद जैद आलम) पाकिस्तानी ।

विदेशी खेलाडीहरुले १३ अर्धशतक हानेकोमा नेपालीहरुले ९ अर्धशतक प्रहार गरेका छन् । यसैगरी, सर्वाधिक औसतको सूचीमा पनि नेपालका दिपेन्द्र सिंह ऐरी मात्र टप फाइभमा छन् ।

चितवनका कप्तान पारस खड्काको अर्धशतक हेर्न फाइनलसम्म पर्खिनुपर्‍यो । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले बनाएको उच्च स्कोर ३१ थियो । पोखराका शरद भेषावकरले ६ म्याचमा ९९ रन मात्र जोड्न सके । उनको उच्च स्कोर ३७ थियो । विनोद भण्डारी एउटा म्याचलाई छोडेर पूर्ण असफल बने । उनले पहिलो म्याचमा बनाएको ४१ रनलाई छाड्ने हो भने ५ म्याचमा २२ रन मात्रै जोड्न सके ।

नेपाली ब्याट्सम्यानहरुमध्ये दिपेन्द्र सिंह ऐरी सफल देखिए । उनी सर्वाधिक रन हान्ने ब्याट्सम्यानको सूचीमा पाचौं नम्बरमा रहे । दुई अर्धशतकसहित १ सय ८९ रन जोडेका दिपेन्द्र सर्वाधिक औसत कायम गर्ने ब्याट्सम्यानहरुको सुचीमा सन्नी पटेलपछि दोस्रो नम्बरमा छन् । १४२ को स्ट्राइक रेटमा खेलेका दिपेन्द्रको औसत ६३ रह्यो, जसलाई सुखद मान्न सकिन्छ ।

युवा ब्याट्सम्यानहरु हरिशंकर शाह र भीम सार्कीले केही आशा देखाएका छन् । उनीहरु दुवैले २-२ अर्धशतक प्रहार गरेका थिए । आशालाग्दा युवा ब्याट्सम्यानहरु रोहित पौडेल र अनिल शाहले कुनै कमाल गर्न सकेनन् । बरु नरेश बुढाऐरले आफ्नो शैली विपरीत एउटा आक्रामक इनिङ खेले । घरेलु क्रिकेटमा विष्फोटक ब्याटिङ गर्ने सौरभ खनाललाई उनको टिम धनगढीले राम्रो सदुपयोग गर्न सकेन ।

समस्या टेक्निकमा कि पावरमा ?

पीपीएलमा सहभागी धेरै खेलाडी नेपालको सिनियर वा जुनियर टिमबाट खेल्दै आएका छन् । थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको अनुभव पनि बटुलिसके । तैपनि ब्याटिङको स्तर चाहिँ किन सधैं उस्तै ?

नेपाल दुई किसिमका ब्याट्सम्यान छन् । एकथरी ब्याट्सम्यान टी-२० पनि टेस्ट जसरी खेल्छन् । धेरथोर रन त बनाउँछन्, तर कमजोर स्ट्राइक रेटमा । विकेटमा टिक्नुपर्छ भन्ने ध्याउन्नमा मात्र हुन्छन् । उनीहरुको सुस्त खेलले अर्को इन्डमा रहेको ब्याट्सम्यानमाथि दबाव पर्छ र उसले विकेट गुमाउन पुग्छ ।

नेपालीहरु प्राय होचो कदका र लुरे हुन्छन् । विदेशीहरु अग्ला र हृष्टपुष्ट हुन्छन् । बलियो पाखुरा भएका उनीहरु बललाई सजिलै उडाएर बाउन्ड्री कटाउँछन् । हाम्रा भने बल उडाउनै डराउँछन् ।

अर्काथरी ब्याट्सम्यानहरु ठूला सट त खेल्न सक्छन्, तर आफ्नो विकेट चाँडै गुमाउन पुग्छन् । उनीहरु चले भने टिमले सहज जित निकाल्न सक्छतर्फ प्रायः चल्दैनन् ।
विदेशी ब्याट्सम्यानसँग नेपाली ब्याट्सम्यानको तुलना गरेर हेर्ने अवसर यस्ता प्रतियोगिताले दिन्छन् । पीपीएलमा सहभागी विदेशी ब्याट्सम्यान भारत, पाकिस्तान, यूएई र ईंग्ल्यान्डका थिए । यूएईका ब्याट्सम्यानहरुसमेत नेपाली ब्याट्सम्यानभन्दा सक्षम देखिए ।

विदेशी ब्याट्सम्यानसँग तुलना गर्दा नेपाली ब्याट्सम्यानहरुमा टेक्निक र पावर दुवै खट्किएको छ । ठूला सट हान्न पावर चाहिन्छ । पावरका लागि फिजिकल स्ट्रेन्थ चाहिन्छ । नेपाली खेलाडी र विदेशी खेलाडीहरु टाढैबाट छुट्टिन्छन् । नेपालीहरु प्राय होचो कदका र लुरे हुन्छन् । विदेशीहरु अग्ला र हृष्टपुष्ट हुन्छन् । बलियो पाखुरा भएका उनीहरु बललाई सजिलै उडाएर बाउन्ड्री कटाउँछन् । हाम्रा भने बल उडाउनै डराउँछन् । उडाए पनि धेरै पर पुर्‍याउन सक्दैनन् ।

त्यसपछि टेक्निकको कुरा आउँछ । छक्का हान्न पावर चाहिने भए पनि राम्रो टेक्निक भएमा टाइमिङ र प्लेसमेन्टको भरमा चौका निकाल्न सकिन्छ । नेपाली ब्याट्सम्यानहरुको शैली हेर्दा उनीहरु अत्यधिक इफोर्ट लगाइरहेका देखिन्छन् । कडा सट हान्न खोज्दा प्लेसमेन्ट ठिक ठाउँमा पर्दैन र फिल्डरको हातमा बल पुग्छ ।

क्रिकेटको कुनै पनि फम्र्याटमा स्ट्राइक रोटे्रट गर्नु अति महत्वपूर्ण हून्छ । एक-एक रन लिँदै स्कोरबोर्डलाई चलायमान बनाउँदा दवाव बढ्न पाउँदैन । नेपाली ब्याट्सम्यनहरु यो कलामा पनि कमजोर छन् । उनीहरु कि बाउन्ड्री निकाल्न खोज्छन् कि ब्लक गर्न ।

पछिल्लो समय टी-२० क्रिकेटमा नयाँ-नयाँ सटहरु आविष्कार भइरहेका छन् । कहिलेकाहीँ यस्ता सटहरु निकै प्रभावकारी हुन्छन्, खासगरी बाउन्ड्री निकाल्नुपर्ने दबावको अवस्थामा । नेपाली ब्याट्सम्यानहरु प्राय परम्परागत सटमै निर्भर छन् । यो प्रतियोगितामा पनि रिभर्स स्वीप, प्याडल स्वीप, स्वीच हिट, स्कुप जस्ता सटहरु खासै ट्राई भएको देखिएन ।

समग्रमा नेपाली ब्याट्सम्यानले आधारभूतरुपमै आफूलाई बदल्न जरुरी देखिन्छ । यसको लागि पहिलो सर्त हो घरेलु संरचना र लगातार खेल । त्यसपछि नेपाललाई एउटा शसक्त ब्याटिङ कोच पनि जरुरी देखिनछ ।

एक दिवसीय मान्यता प्राप्त टिममा यौ स्तरको ब्याटिङ स्वीकार्य छैन । हामीले ब्याटिङ सुधार्न सकेनौंभन्दा योभन्दा माथि उठ्ने कल्पना नगर्दा पनि हुन्छ । बरु तल झर्ने खतरा चाहिँ प्रचुर रहन्छ ।

लामो लिगको आवश्यकता

पछिल्लो समय एकपछि अर्को टी-२० फ्रेन्चाइज लिगहरु भइरहेका छन् । सबैले ६ वटा टिमलाई समावेश गरेर १५ दिन क्रिकेट खेलाउँछन् । समूह चरणमा एउटा टिमले ५ वटा मा खेल खेल्ने मौका पाउँछ ।

यस्तोमा तीनवटा खेल हार्नासाथ टिमको उपाधि होड सकिन्छ । उसले कमब्याक गर्ने मौकै पाउँदैन । त्यसैले पीपीएलको आगामी संस्करणलाई कम्तीमा एक महिना लम्ब्याउनु जरुरी देखिन्छ ताकी प्रत्येक टिमले एक-अर्कासँग दुई-दुई पटक खेल्न सकुन् ।

यस्ता घरेलु प्रतियोगिताको सफलताको लागि अर्को महत्वपूर्ण आवश्यकता भनेको होम एन्ड अवेको अवधारणा हो । प्रतिस्पर्धामा उत्रिने दुईमध्ये एउटा घरेलु टोली हुनुपर्छ । त्यसो भयो भने दर्शक खेल हेर्न ओइरिन्छन् र आफ्नो टिमलाई खुलेर सपोर्ट गर्छन् ।

नेपालमा अहिले नै यो अवधारणामा जान सम्भव छैन किनकी खेल्न लायक क्रिकेट मैदानहरु न्यून छन् । तर, यसको सोच भने राख्नु पर्छ । कम्तीमा प्रत्येक प्रदेशमा एउटा स्तरीय मैदान तयार गर्न सकियो भने होम एन्ड अवेमा जान सकिन्छ र यसले क्रिकेट विकासमा ठूलो टेवा पुग्छ ।

#OnlineKhabar

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here