याक्खा समुदायमा ‘बलि’ राजाको हुकुम

0
67

बाबुराम बास्तोला
२०७५ कार्तिक २१ गते ६:३६ मा प्रकाशित

संखुवासभा । ‘सत्ययुगको कुरो, एक समय बलि राजा सिकिस्त बिरामी परेछन् रे ! उपचारका अनेक विधिगर्दा पनि राजालाई ठीक भएनछ ।

जनता साह्रै चिन्तित भए । उनीहरूले राजाको स्वास्थ्यलाभको कामना गर्दै देवीदेवता भाके, पूजा गरे । नभन्दै केही समयपछि राजालाई ठीक पनि भयो । राजालाई सन्चो भएको थाहा पाएपछि दरबारमा जनताको भिड लागेछ । राजाले हुकुमदिए, ‘तिमीहरूको आशीर्वादले म बाँचे, यो खबर सबैलाई सुनाइदिनु ।’ उपस्थित भएकाहरू यो शुभखबर लिएर नाचगान गर्दै घरघर पुगे । राज्यभरि दीपावली भयो ।

याक्खा समुदायमा तिहार र देउसी–भैलोको उत्पत्तिबारे यो लोकोक्ति प्रचलित छ । भैलेनीहरू अझै गाउँछन्, ‘हामी त्यसै आएनौ, बलिराजाले पठा’को, औंसीको दिन गाईतिहार भैलो’ । देउसेहरूको देउसीरेले पनि यस्तै बेहोरा बोल्छ ।

संखुवासभा जिल्लालाई मूलभूमि मान्ने आदिवासी याक्खा जातिमा तिहारको महत्व विशेष छ । परापूर्वकालदेखि तिहार मान्दै आएका याक्खाहरू अहिले पनि उत्तिकै उल्लासका साथ तिहार मनाउँछन् ।

जबकि नेपालीको महान चाड भनिने दसैँ भने प्रायः सुनसान हुने गर्दछ, याख्खा समुदायमा । ०५० सालताका मार काट्ने र टीका लगाउने प्रचलन छोडिएसँगै याख्या समुदायमा दसैंमा आफन्त भेटघाट गर्ने क्रमसमेत घट्दै गएको याख्या संस्कार र संस्कृतिका खोजकर्ता मागमान जिमीले बताए ।

याक्खा समाजमा तिहारकै अवसरमा ‘तेन्ताम्मा’ जस्ता मौलिक पूजाहरूसमेत हुने गर्दछ । अन्नबालीमा सह र गाउँमा सुखशान्ति र समृद्धिको कामना गर्दै यस्तो पूजा याक्खा समुदायमा सम्पन्न हुन्छ । याक्खा जातिले आफ्नो मौलिक पहिचान मान्ने ‘डोकेनीनाच’ ले पनि यो समुदायमा तिहारको रौनक थप बढाउँछ ।

महिलाहरू मात्र सहभागी हुने यो नाच लक्ष्मीपूजाको रात घरघर डुलेर नाच्ने गरिन्छ । तिहारमा घरको काम बिर्संदै पुरुषहरू आपूm मात्र जुवातासमा भुलेपछि यस विकृतिविरुद्ध महिलाले विद्रोह गर्ने क्रममा डोकेनीनाचको उत्पत्ति भएको किंवदन्ती छ ।

यसरी समाजका पहिचानको रूपमा रहेको संस्कार र संस्कृतिको इतिहास नै तिहारसँग गाँसिएको भएर पनि हुनसक्छ याक्खा समाजमातिहारको रौनकमा कमी आएको छैन । यमपञ्चकको पहिलो दिन कागको पूजादेखि पाँचौँ दिन भाइटीकासम्म गरिने सबै रीतिमा परिवर्तन भएको छैन, एकनास छ ।

अझ लक्ष्मीपूजाको साँझदेखि हुने देउसी, भैलो र डोकेनीजस्ता नाचगानले गाउँघरमा तिहारको रमझम थप उल्लासपूर्ण हुने गर्छ । परदेश गएकाहरूसमेत तिहारकै वेला घर फर्कने गरेका छन् । जसले गर्दा तिहारको माहौल अझ पर्वमय हुन्छ ।

देशकै महान र विशेष भनिएको दसैँ सुनसान हुँदै जाँदा तिहारको रौनकता भने कायमै किन त ? याक्खा संस्कार र संस्कृतिका खोजकर्ता मागमान जिमी यसबारे दुई तर्क अघि सार्छन् । भन्छन्, ‘याक्खा समाजमा दसैँको नाइके तत्कालीन जिम्मावालहरू हुन् । राज्यद्वारा केही प्रशासनिक अधिकार समेत पाएका जिम्मावालहरूको अगुवाईमा दसैैँ विधिवत हुन्थ्यो ।

जब त्यो जिम्मावाल प्रथाको अन्त्य भयो, यससँगै दसैँको महत्व र रौनक पनि हराउँदै गएको हो ।’ हिन्दू चाड भनिने गरेकाले पनि याक्खालगायत किरात समुदायमा दसैँप्रति वितृष्णा बढ्दै गएको र बहिष्कारसमेत हुनथालेको उनको भनाइ छ ।

‘तिहार भने जिम्मावाल र रैती (जनता) नभनी जनस्तरबाटै मनाइयो । यसमा धार्मिक आस्था गाँसिएन । अझ विशेष, तिहारसँगै सम्बन्धित संस्कृतिहरू भएकाले पनि याक्खा समाजमा तिहारको लोकप्रियतामा कमी नआएको हो’, जिमीको तर्क छ ।

याक्खा समाजमा तिहारको महत्व र उल्लास यथावत रहेको चलचित्रकर्मी देउकृष्ण देवान बताउँछन् । ‘दसैँंमा फुर्सद हुने मात्र हो । देउसी–भैलो, डोकेनी र भाइटीकाले तिहार भने चाडपर्वभैmँ लाग्छ । चेलीबेटीको हातबाट निधारमा टीका र गलामा सयपत्री, मखमलीको माला लगाउँदा आत्मैदेखि रोमाञ्चित भइन्छ ।

रमाइलो लाग्छ, उनले तिहारको रौनकता वर्णन गरे ।’ याक्खाजातिको सामाजिक संस्था किरात याक्खा छम्माका सहमहासचिव सोनाम याक्खाको अनुभवमा याक्खा समुदायले दसैँ मान्न छाडे पनि तिहार भने धुमधामका साथ रमाइलो गरेर मनाउने गरेका छन् ।

केहीगाउँहरूमा सेतो टीका लगाउनेबाहेक याक्खाहरूले दसैँको विधि छाडिसकेका छन् । तिहारमा भने माइतीहरू पनि भाइटीका लगाउन टाढा रहेका चेलीकहाँ पुग्ने गर्छन् । टोल–टोलमा लिंगेपिङ, पाँचै दिन हुने तिहारको विधिवत पूजा, रातभर देउसीभैलो र नाचगानले पनि याक्खा समाजमा तिहारको महत्व कायमै रहेको संकेत गर्दछ । अर्थात् तिहारको उत्पत्ति बारे प्रचलित किंवदन्ती अनुसार, याक्खा समाजमा ‘बलि राजाको हुकुम’ अझै चल्दै छ ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here