प्रचण्डको पछिल्लो प्रयोगः मदन भण्डारी सम्झाउने, केपी ओली रिझाउने !

0
70

२० कात्तिक, काठमाडौं । वामदेव गौतमलाई चुनाव लडाउन केपी ओलीलाई थाहा नदिई रामवीर मानन्धरको राजीनामापत्र तयार पार्दा त्यसले ‘ब्याकफायर’ भएको महशुस गरेका नेकपा अध्यक्ष प्रचण्डको रणनीति फेरिएको हो ? के प्रचण्ड अब मदन भण्डारीको ‘लिगेसी’ बोक्न तयार भएका हुन् ? के अब प्रचण्डले ओलीलाई रिझाउने, माधव नेपाललाई साइजमा राख्ने र राष्ट्रपति विद्या भण्डारीको साथ लिएर जनताको बहुदलीय जनवादी धारको नेता पनि आफैं बन्न खोजेका हुन् ?

प्रचण्डका पछिल्ला भाषणले यी प्रश्नहरु एकैचोटि खडा गरेका छन् । पूर्वएमाले वृत्तका नेता कार्यकर्ताहरु प्रचण्डका पछिल्ला अभिव्यक्तिबाट चकितमात्र भएका छैनन्, उनको रणनीतिक चालबाजी बुझ्ने नेताहरुले अनेक लख काट्न थालिसकेका छन् ।

जनकपुर, काठमाडौं, बुटवल र बिराटनगर जहाँ पुगे पनि प्रचण्डले सरकारको बचाउ, केपी ओली र आफ्नो जोडीको व्याख्या र स्वर्गीय मदन भण्डारीको प्रशंसा गर्नु संयोगमात्र होइन भन्ने पूर्वएमाले नेताहरुको बुझाइ छ ।

माधव नेपाल लगायतका बरिष्ठ नेताहरुले प्रदेशस्तरीय चियापान तथा पार्टी एकता सन्देश सभाहरुमा प्रचण्ड र विष्णु पौडेल हल बाँधेर हिँडेकोमा भित्रभित्रै अशन्तुष्टि जनाइरहेकै बेला बिराटनगरबाट प्रचण्डले सोमबार अर्को झड्का थिए ।

प्रचण्डले खुलेरै भने, ‘महासचिव विष्णु पौडेल र म हल गोरुजस्तै भएर हिँडेका छौं । अब त हामी दुबैको बुझाइ र भाषण पनि एउटै हुन थालिसकेको छ ।’

सबैले बुझेको कुरा के हो भने विष्णु पौडेल नेकपाका महासचिवमात्र होइनन्, उनी अबको पुस्ताका उदीयमान नेकपा नेता पनि हुन् । कम्तिमा पनि ओली, प्रचण्ड, माधव नेपाल र वामदेव गौतमको सहमतिमा महासचिव बनाइएका पौडेलको रुझान मूलतः ओलीसँगै छ । यद्यपि पार्टी संगठनको जिम्मेवारी पाएका पौडेलको दैनिकी भने ‘दुई टार’ (बालुवाटार र खुमलटार) ओहोर–दोहोरमा बित्छ । उनले ओली र प्रचण्डलाई विश्वासमा लिएरै काम गरिरहेका छन् ।

त्यसोभए प्रचण्डचाहिँ के गर्दैछन् ? केही न केही नयाँ प्रयोग नगरी बस्न नसक्ने नेता हुन् प्रचण्ड । उनी आफ्नो नयाँ प्रयोगलाई पुष्टि गर्न जस्तोसुकै सिद्धान्तको जामा पहिर्‍याउन पनि पछि पर्दैनन् ।

पछिल्लो वामदेव प्रकरणले नेकपाको शीर्ष तहमा विश्वासको संकट उत्पन्न गरेको थियो । ‘नानीका बाउ’को पुरानो बानी गएन छ भन्ने टिप्पणी पनि नेकपाभित्र नभएको होइन । किनकि आफ्नैभित्र पनि एकलाई अर्को विरुद्ध उचाल्ने र पछार्ने प्रचण्डको पुरानो तरिका हो ।

तर, वामदेव–रामवीर प्रकरणमा आफ्नो प्रयोग असफल हुनासाथ प्रचण्डले पर्लक्कै पल्टिएर सरकार र ओलीको बचाउमा एकै दिनमा तीनवटासम्म भाषण गर्न थालेका छन् । एक दिनअघि मात्रै चितवनमा सरकारको आलोचना गरेका प्रचण्डले भोलिपल्टै काठमाडौं र ललितपुरको लगनखेलमा सरकारको बचाउमात्रै गरेनन्, ओलीको प्रशंसामा धेरै समय खर्च गरे । जुन सिलसिला अहिले बिराटनगरसम्म पुग्दा पनि चलिरहेकै छ ।

बिराटनगरको पछिल्लो भाषणबाट के प्रष्ट बुझ्न सकिन्छ भने प्रचण्ड अहिले र अझै केही समय ओलीलाई चिढ्याउने दिशामा जाने छैनन् । अर्को कुरा, उनी तत्कालीन एमाले पंक्ति जो मदन भण्डारीसँग भावनात्मकरुपमा जोडिएको छ, त्यसलाई खुसी पार्न उद्यत छन् । उनी कहिले ०५० जेठ ३ गते मदन भण्डारीको उनकै शब्दमा ‘दुर्घटनामा हत्या’ नभएको भए एक सातापछि त्यतिबेलै पार्टी एकता हुने थियो भनेर एमाले पंक्तिलाई २५ वर्षअघि फर्काँउँछन् त कहिले जबजको तारिफ पनि गर्दैछन् ।

मदन आश्रित स्मृति दिवसकै अवसरमा जेठ ३ गते पार्टी एकीकरणको प्रस्ताव पनि ओलीसमक्ष आफूलेनै राखेको भनेर प्रचण्डले मदन भण्डारीप्रतिको सम्मान दर्शाउँदै मदनसँग भावना जोडिएका कार्यकर्ताको मन जित्न खोजिरहेका छन् । यसको सिधा सम्बन्ध आधारभूत तहका मदनवादी कार्यकर्तादेखि शीतलनिवासकी विद्या भण्डारीसम्म जोडिन्छ ।

सबैले बुझेको अर्को यथार्थ पनि के हो भने पछिल्लो एक/डेढ वर्षयता राष्ट्रपति भण्डारीले प्रचण्डका कुरा धेरै सुन्ने गरेकी छन् ।

प्रचण्डपथको गन्तव्य मूलतः सत्ता हो । अहिलेसम्म उनले जे–जति प्रयोग गरे, ती सत्ताको केन्द्रमा पुग्नकै लागि थिए । जनयुद्धको उठानदेखि बैठानसम्म र कांग्रेसँगको सहयात्रादेखि एमालेसँगको एकीकरणसम्म प्रचण्डका जोखिमपूर्ण प्रयोगहरु हुन् ।

अब प्रचण्डको गन्तव्य बनेको एकीकृत शक्तिशाली कम्युनिस्ट पार्टीको महाधिवेशनबाट निर्वाचित शक्तिशाली अध्यक्ष र दुई तिहाईको कम्युनिस्ट सरकारको प्रधानमन्त्री नै हो ।

नेकपाको महाधिवेशन कम्तिमा डेढ वर्षअघि हुने छैन । केपी ओलीले आफू अब दोहोरिएर अध्यक्ष नहुने आश्वासन प्रचण्ड र माधव नेपाल दुबैलाई दिएको भनिँदै आएको छ । त्यसैले पनि प्रचण्ड अहिले ओलीलाई बिझाउने भन्दा रिझाउने बाटोमा हिँड्न सक्छन् ।

यसबीचमा माधव नेपालले ओलीविरुद्ध गरेको द्रोहले पनि प्रचण्डलाई सहज भएको हुनुपर्छ । तर, ओली र माधव नेपालबीच दशैंछेका चरणवद्ध गोप्य छलफल भएका छन् ।

नेकपामा सचिवालय सदस्यहरु प्रायःसबैका ठूला–साना गुट छन् । सबैभन्दा ठूलो गुट भने ओली र प्रचण्डकै छन् । पूर्वमाओवादीमा प्रचण्ड गुटभित्रका उपगुटहरु अब छिन्नभिन्न भएनन् भने अलग कुरा हो, नत्र उनको गुट बलियो छ । रामबहादुर थापा बादलले पनि आफ्नो गुटलाई भागबण्डामा बलियो बनाउँदै ल्याएका छन् । नारायणकाजी श्रेष्ठको गुट तुलनात्मक रुपमा कमजोर तर स्थायी छ ।

पूर्वएमालेमा ओलीले नेतृत्व गरेको गुटभित्र वामदेव गौतम र ईश्वर पोखरेल समेटिएका थिए । वामदेवको गुट निकै कमजोर भइसकेको छ । ईश्वर पोखरेल ओलीभन्दा बाहिर जाने अवस्था देखिन्न । झलनाथ खनाल लगभग एक्लो वृहस्पत्ति हुन् । माधव नेपाल गुटभित्र घनश्याम भुसाल र योगेश भट्टराईको उपगुटको साथ आफूले पाउने विश्वास प्रचण्डमा छ । त्यसैले उनको ध्यान अहिले ओलीको ‘लिगेसी’ आफूतिर आकर्षित गर्नमै केन्द्रित हुने देखिन्छ ।

कार्यकर्ता भेला र कार्यक्रमहरुमा प्रचण्डका पछिल्ला भाषण पूर्वएमाले र त्यसमा पनि मदन भण्डारीको लिगेसी रहेको दाबी गर्ने ओली समूहका कार्यकर्ताको मन जित्न केन्द्रित देखिन्छन् । ईश्वर पोखरेलसँग उनको दूरी देखिए पनि बिष्णु पौडेल, शंकर पोखरेलजस्ता ओली निकट नेताहरुसँगको सामीप्य बढाउनु प्रचण्डको रणनीतिक चाल हुन सक्छ । किनकि उनले मदन भण्डारीको दुर्घटनाले हुन नसकेको र माधव नेपालले ५०/५० को तालमेल नमान्दा हुन नसकेको कम्युनिस्ट एकता ओली र आफ्नो एउटै स्वभावका कारण सम्भव भएको बताइसकेका छन् ।

आफैंले स्थापित गरेको मान्यता र प्रयोगविरुद्ध आफैंले अर्को प्रयोग गर्ने बानी परेका प्रचण्डको पछिल्लो रणनीति कति लामो चल्छ, भन्न सकिन्न । तर, तल्लो तहसम्म्म एकीकरणलगत्तै पार्टी र सरकार विरुद्धको दुष्प्रचार धूलोपीठो पार्ने अभियान लिएर आउँछौं भन्दै उनले कार्यकर्ता हौस्याएका मात्र छैनन्, भावी नेतृत्वको संकेत पनि दिएका छन् । उनको प्रयोगलाई ओलीले कसरी लिएका छन् ? प्रचण्डको आगामी यात्रालाई यो प्रश्नले पछ्याइरहनेछ ।

#OnlineKhabar

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here