दिल्लीबाट ४० महिलाको उद्धार

0
78

सौर्य अनलाइन
२०७५ कार्तिक २० गते ७:५२ मा प्रकाशित

बाँके । भारतको दिल्लीबाट ४० नेपाली महिलाको उद्दार गरी नेपाल ल्याइएको छ । नेपालबाट ललाइफकाई र प्रलोभनमा पारी भारत पुर्याएका ४० जना महिलाको भारतबाट उद्दार गरिएको हो ।

माइती नेपाल इन्डिया, नेपाली दूतावास, माइती नेपाल, भारतीय प्रहरीको सक्रियतामा अन्यायमा परेका ४० जना महिलाको उद्दार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।

भारतको दिल्लीस्थित जिबीरोड १२४ को कोठीबाट तीन जना र भारतको एयरपोर्ट हुँदै खाडीमुलुक लैजाँदै गरेको अवस्थामा ३७ महिलालाई उद्दार गरिएको माइती नेपाल इन्डियाले जानकारी गराएको छ । १२४ नं. कोठीमा रहेका तीन नेपाली तीन÷चार वर्ष पहिले बेचिएर कोठीमा काम गर्न बाध्य भएको माइती नेपाल इन्डियाका संयोजक बालकृष्ण पाण्डेले जानकारी गराए ।

कोठीमा रहेका नेपाली महिलाहरू बाँके, झापा, नुवाकोट, कपिलबस्तु, दैलेख, इलाम, रामेछाप, सुनसरीलगायत ठाउँका रहेका छन् । उनीहरूको उमेर १८ देखि २८ वर्षसम्म रहेको माइती नेपाल इन्डियाका संयोजक पाण्डेले जानकारी दिए ।

३७ जना महिलालाई खाडी मुलुकको होटल, अफिस, घरलगायतको कार्यमा रोजगारी लगाइदिने प्रलोभनका लागि एक जनाबाट चार लाखको दरले रकम उठाएको माइती नेपालले जानकारी गराएको छ ।

केदार भन्ने व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरी सोधपुछपछि धेरैको संख्यामा महिलालाई उद्दार गर्न सफल भएको माइती नेपाल इन्डियाका संयोजक पाण्डेले बताए । करिब दुई महिना लागेर ४० जना महिलालाई उद्दार गर्न सफल भएको संयोजक पाण्डेले बताए ।

पाँच सयभन्दा बढी नेपाली महिलालाई बेचिएको आरोपमा केदार भन्नेलाई पक्राउपछि थप महिलाहरूलाई पनि खाडीमुलुकको कतार, साउदी, कोलम्बिया, मेलेसियाजस्ता ठाउँमा काम लगाइदिने भन्दै लैजाने तयारी अवस्थामा रहेका महिलाहरूलाई उद्धार गरी नेपाल ल्याइएको माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाको भनाइ छ ।

उद्धार गरिएकाहरूलाई उनीहरूको परिवारसमक्ष सम्पर्क गरी छाड्ने माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले जानकारी गराए । भारतबाट नेपाल ल्याउन पाँच जना भारतीय सुरक्षाकर्मीसहित ४० जना महिला नेपाल ल्याइएको थियो ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here