भारतीयलार्इ नेपाली नागरिकता दिने बाबु जेल चलान

0
77

सौर्य अनलाइन
२०७५ कार्तिक २० गते ६:२९ मा प्रकाशित

विराटनगर । ६ जनालाई किर्ते नागरिकता प्रदानका लागि नक्कली बाबु बनेका सत्यनारायण पोद्दारलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

सोही नागरिकता मुद्दामा सिफारिस दिने विराटनगर महानगरपालिका—१ का वडाअध्यक्ष उद्धव अर्याल, वडासदस्य रमेश साह, वडासचिव पुष्पा तिम्सिनासहित १५ जना फरार छन् ।

आफ्नै बाबु बनेर सात भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने विराटनगर महानगरपालिका–१ घर भइ कटहरी गाउँपालिका–१ मा बस्दै आएका ५५ वर्षीय पोद्दारलाई तत्कालको प्रमाणका आधारमा निर्दोष भन्न नसकिने भन्दै अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले पोद्दारले किर्ते गरेर झुटा विवरण पेस गरी नागरिकता बनाइदिएको देखिएको उल्लेख गरेको छ । अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले मुलुकी ऐन फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम तत्काललाई पुर्पक्षमा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश भएको जानकारी दिए ।

सोमबार उनीसँग अदालतबाट बयान लिने काम भएको थियो । बयान सकिनासाथ भएको थुनछेक बहसपछि उनलाई थुनामा राख्न अदालतले आदेश दिएको हो । आइतबार झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा पोद्दारसहित १६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा झुटा विवरण पेस गरी विदेशीले नागरिकता लिएको, दिलाएको मुद्दा दायर गरिएको थियो ।

पोद्दार पक्राउ परेपछि वडाअध्यक्ष अर्यालले दुईजना भारतीयलाई नेपाली नागरिकताका लागि सिफारिस गरेको खुलेको थियो । वडासदस्य साह साक्षी बसेका छन् । पोद्दार पक्राउको खबर पाएसँगै अर्याल, साह र सचिव तिम्सिना सम्पर्कमा नरहेको प्रहरीले जानकारी दिएको छ ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here