विवादमा शीतभण्डार

0
57

सौर्य अनलाइन
२०७५ कार्तिक १९ गते ७:२६ मा प्रकाशित

झापा । निर्माण कार्य प्रारम्भ भएको आठ वर्ष बितिसक्दा पनि झापाको भद्रपुरमा कोल्ड स्टोरेज (शीतभण्डार) सञ्चालनमा आउन सकेको छैन । भारतीय दूतावासमार्फत कोल्ड स्टोरेज बनाउनका लागि ०६७ सालमा बजेट निकासा भए पनि काम पूरा नहुँदा समस्या भएको हो ।

कुल ४ करोड ७८ लाख ७३ हजार २ सय ५८ रुपैयाँ ९० पैसाको लागत इस्टिमेट रहेकोमा सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले ४ करोड १३ लाख ३७ हजार ३ सय ७४ रुपैयाँ ९६ पैसा (भ्याटसहित) मा १५ महिनामा काम सम्पन्न गरिसक्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो ।

०६७ पुस १५ मा कोल्ड स्टोरेज निर्माण सुरु भएको थियो । आठ वर्षको अवधिमा भवन निर्माण कार्य पूरा गरी रंगरोगन गरिसकिएको छ । कोल्ड स्टोरेजभित्र चाहिने आवश्यक थर्मोकुलर जडान भए पनि ग्यास हाल्नुपर्ने, ट्रान्समिटर, जेनेटर, बिजुलीको सामान जडान र अन्य केही मेसिनरी जडान लगायतका मुख्य काम अझै हुन बाँकी छ ।

भारतीय दूतावासले बजेट निकासा गरेपछि भद्रपुर नगरपालिकाले टेन्डर आह्वान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य सुरु गरेको थियो । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले कोल्ड स्टोरेजको काम अब १० प्रतिशत मात्र बाँकी रहेको बताएका छन् ।

‘नगरपालिकामा निर्वाचित भएर आएको दुई महिनामै कोल्ड स्टोरेजको बारेमा जानकारी लिएका थियौँ’, नगरप्रमुख श्रेष्ठले भने, ‘मुख्य ठेकेदारले इटहरीका एक व्यक्तिलाई पेटी ठेक्कामा काम गर्न दिएको रहेछ । मुख्य ठेकेदारले काम गरेको रकम लाने र ठेकेदारले रकम नपाएपछि यो कोल्डस्टोरेज वर्षौंदेखि अलपत्रमा परेको हो ।’

पटकपटक सम्पर्कविहीन बन्ने ठेकेदारलाई नगरपालिकाले पत्र काटिसकेकोले अब जनप्रतिनिधिकै पहलमा यसलाई चाँडो सञ्चालनमा ल्याउने उनले बताए ।

नगरपालिकाले इस्टिमेट गर्दादेखि नै कोल्ड स्टोरेजमा विवाद देखिएको थियो । नगरपालिकाले ०६७ जेठ २० मा पहिलोपल्ट कोल्ड स्टोरेज निर्माणका लागि टेन्डर आह्वान गरेको थियो ।

पहिलो पटकको सूचनामा परेका टेन्डरहरूलाई नगरपालिकाले विभिन्न बहाना बनाएर चित्तबुझ्दो नभएको भन्दै पुनः सूचना प्रकाशित गरेको थियो । दोस्रो पटकको सूचनाअनुसार टेन्डर दर्ता गराउने अन्तिम दिन भने नगरपालिकामा ठूलै झडप भएको थियो ।

नगरपालिकाले फेरि टेन्डर स्वीकृत गर्ने समयमा अंशभागलाई लिएर सर्वदलीय संयन्त्र र नगरपालिकाका बीचमा पनि विवाद भएको थियो । विवादका बीच टेन्डर स्वीकृत भएपछि नगरका तत्कालीन कार्यकारी अधिकृत मदन घिमिरे आपैmँले शीतभण्डारको सुटुक्क शिलान्यास गरेका थिए ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here