जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गरौँः पौडेल

0
49

गुरुमुरत यादव
२०७५ कार्तिक १९ गते ७:२२ मा प्रकाशित

बाँके । प्रदेश–५ सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मन्त्रालयसँगको सहकार्यमा गरिने कार्यक्रमहरू आआफ्नो स्थानीय तहको क्षमता र प्रभावकारीताको आधारमा बनाउन सुझाव दिएकी छन् । प्रदेश–५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बुटवलले स्थानीयतह तथा सरोकारवाला निकायसँग कृषि तथा पशुपालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले सो कुरा बताएकी हुन् ।

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जको समन्वयमा बाँके र बर्दिया जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, कृषिशाखा, पशुशाखा, तथा कृषि र पशु पेसा व्यवसायहरूसँग सम्बन्धित सरोकारवाला निकाय एवं संस्थाहरूसँग मन्त्रालयले बृहत् अन्तरक्रिया गरेको हो ।

कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतको अध्यक्षता तथा प्रदेश–५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा प्रदेश सरकारको कृषि मन्त्रालय पशुपन्छी विकास महाशाखाका प्रमुखले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा प्रदेश–५ का १२ वटै जिल्लाका कृषिको तथ्यांक, खाद्यान्नको अवस्था, पशुपन्छी क्षेत्रको अवस्था, प्रदेशमा सम्भावित पशुपन्छी तथा कृषि वस्तुहरूको अवस्था, सहकारी क्षेत्रको अवस्था, पशुपन्छीजन्य पदार्थमा प्रतिव्यक्ति उपलब्धता लगायतका विषयहरूको विस्तृत विवरण प्रस्तुत गरिएको थियो ।

प्रदेश सरकारको कृषि मन्त्रालयले १२ वटा जिल्लाका सहकारीकर्मी स्थानीय तहगत तालिमका लागि ८० लाख, सरोकारवाला तथा स्थानीय तहगत कर्मचारीहरूलाई तालिमका लागि ४० लाख, सहकारी विकास कोषका लागि १५ करोड, सहकारी बजार स्थापनाका लागि ६ करोड रकम विनियोजन गरेको जानकारी गराइएको छ ।

त्यस्तै प्रदेश–५ सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रालय र स्थानीय तह बीचको सहकार्यमा र समन्वयमा काम गर्न सकिने क्षेत्रहरूको समेत निर्धारण गरेको मन्त्रालयले जनाएको छ ।

त्यस्ता क्षेत्रहरूमा श्रोतकेन्द्र स्थापना, स्थानीय कृषि तथा पशुपन्छी हाटबजार सुदृढीकरण तथा प्रवद्र्धन, भूमिहीन किसानका लागि करार खेती कार्यक्रम, कृषि तथा पशुपन्छीसँगै सम्बद्ध अन्य प्रवद्र्धनात्क कार्यक्रम, कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन केन्द्र स्थापना तथा बजारीकरणका पूर्वाधार विकास कार्यक्रम, बृहत् कृषि उत्पादन क्षेत्र विकास कार्यक्रम, स्थानीय तहको विशेष मागमा आधारित कृषि वस्तु आत्मनिर्भर कार्यक्रम लगायतको कार्यक्रमहरू मन्त्रालयले सार्वजनिक गरेको जानकारी गराएको छ ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी मन्त्री पौडेलले भनिन्, ‘साना तथा मझौला किसानहरूका लागि आर्थिक उपार्जन गर्न सकिने गरी कार्यक्रमहरू मन्त्रालयले अगाडि सारेको छ । त्यसमा सबै स्थानीय तहहरूले विशेष ध्यान दिएर कार्यक्रम बनाउनुहोला’ ।

मन्त्री पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गराउन करार खेतीको अवधारणा मन्त्रालयले अगाडि सारेको बताउँदै कृषि पेसालाई आमजनताको आकर्षण र आत्मसम्मानको पेसा बनाउने र त्यसलाई व्यवसायीकरण गर्न आवश्यक रहेको र मन्त्रालय त्यस काममा लागिरहेको जानकारी गराइन् ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले कोहलपुर नगरपालिका कृषि तथा सहकारी मन्त्रालय र यससँग सम्बन्धित योजनाहरू सहकार्यमा गर्न इच्छुक रहेको बताए ।

रावतले प्रदेश मन्त्रालयले ५० प्रतिशत सहकार्यमा गर्न प्रस्ताव आह्वान गरेको व्यवस्थित र आधुनिक पशु वधशाला निर्माणका लागि नगरपालिका तयार रहेको र त्यसका लागि कोहलपुर नगरपालिकाले बाँकेका सबै स्थानीय तहहरू, वाणिज्य संघ, होटल व्यवसायी संघ, मासु व्यवसायी संघ, बाख्रापालन कृषक सहकारीहरू लगायतको लगानी सहभागीता र साझेदारीको प्रतिवद्धतासमेत गराएको जानकारी गराए ।

कोहलपुर नगरपालिकाले चालु आवमा बाख्रापालनमा २५ लाख अनुदान दिने गरी बजेट विनियोजन गरेको, पशु वधशाला, कृषि तथा अन्य काममा लगानी गरेको रावतले बताए ।

सडकमा देखिने छाडा पशुचौपायाहरूको समस्या प्रदेशभरीकै समस्या रहेकाले यसको दीर्घकालीन समस्या समाधानका लागि प्रदेश सरकारले नै विशेष योजना बनाउनुपर्ने सुझाव दिए ।

त्यस्तै स्थानीयतहअन्तर्गत सहकारीहरूको नियमन, अनुगमन र व्यवस्थापन गर्न सहकारी विज्ञ तथा अनुभवी कर्मचारीको व्यवस्थापन तत्काल गर्न मन्त्रीको ध्याणाकर्षणसमेत गराए ।

अन्तरक्रिया कार्यक्रममा बारबर्दिया नगरपालिका प्रमुख दुर्गाबहादुर थारू, जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादव, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, प्रदेश सांसद आइपी खरेल, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतले कार्यक्रमको प्रभावकारीको बारेमा आआफ्ना धारणा राखेका थिए ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here