भाइटीकामा बालगोपालेश्वर खुल्ने

0
71

सञ्जिता आचार्य
२०७५ कार्तिक १९ गते ७:०२ मा प्रकाशित

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको भाइटीकाको दिन रानीपोखरी, बालगोपालेश्वर मन्दिर यसवर्ष पनि खुला गरिने भएको छ ।

भूकम्पबाट भत्किएको रानीपोखरी पुनर्निर्माण अझै सुरु हुन नसकिरहेका वेला भाइटीकाको दिन मात्र खुल्ने सो मन्दिर यसवर्ष पनि खोलिने भएको हो ।

पूर्णरूपको मन्दिर नभए पनि जुन अवस्थामा छ त्यही अवस्थामा त्यहाँ बालगोपालेश्वरको मूर्ति ल्याएर राखिने काठमाडौं महानगरपालिकाले जनाएको छ । हाल सो मूर्ति नेपाली सेनाले आफ्नो रहोवरमा राखेको छ । निर्माणाधीन रहेको बालगोपालेश्वर मन्दिर परिसरमा नै टीका लगाउने व्यवस्था मिलाइएको काठमाडौ महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले बताए । गत वर्ष पनि मन्दिरको बाहिर नै बसेर टीका लगाइएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैवेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । बालगोपालेश्वरको मूर्ति भूकम्प गएसँगै सुरक्षाका लागि सेनाको जिम्मा लगाइएको थियो ।

टीकाको दिन सो मूर्ति ल्याई टीका लगाउने परम्परालाई अगाडि बढाइने महानगरका सहप्रवक्ता ढकालले बताए । सो मूर्तिलाई भाइटीकाको दिन नगर प्रहरीले सुरक्षा दिनेछ भने टीका सकिएपछि पुनः सेनाले नै राख्नेछ । बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीले आएर भाइटीका लगाउने चलन रहेको छ ।

भूकम्प भएको तीन वर्ष बितिसक्दा पनि काठमाडौं महानगरपालिका पुरातत्व विभागबीच सकारात्मक छलफल हुन नसक्दा निर्माणको कामले गति लिन नसकेको हो । रानीपोखरी पुननिर्माणका लागि अहिलेसम्म कम्पनी नै छनोट पनि हुन सकेको छैन ।

यसअघि काठमाडौं महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनर्निर्माण गर्दा विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाएको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाएको थियो ।

महानगरले व्यापारिक दृष्टिकोणले सोहीअनुरूप पोखरी क्षेत्रको निर्माण सुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि सुरु गरिएको निर्माण रोकिएको हो । माघ ०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीमा पुनर्निर्माणको शुभारम्भ गरेकी थिइन् ।



#SouryaDaily

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here