पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्बोच्चको अन्तरिम आदेश

0
263

पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्बोच्चको अन्तरिम आदेश दिएकाे छ ।

अधिवक्ता प्रवीण सुवेदीसहित चार जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतलाई विपक्षी बनाई मंगलबार सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा पब्जीमाथि प्रतिबन्धको निर्णय बदर गर्न माग गरिएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले चैत २८ गतेदेखि लागू हुने गरी पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । इन्टरनेटको माध्यमबाट अभिव्यक्ति र विचारको स्वतन्त्रतालाई सरकारले कानून विना स्वेच्छाचारी ढङ्गले बन्देज लगाउने निर्णय सरकारबाट भएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न रिटमा अन्तरिम आदेश माग गरिएको थियो।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दायर रिटमाथि सुनुवाइ गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय हाललाई कार्यान्वयन गर्न अन्तरिम दिएको हो । आदेशमा पब्जि प्रतिबन्ध गर्नुका कारण १५ दिन भित्र पेश गर्न भनिएको छ ।

पब्जी के हो ?

पब्जी (PUBG) इन्टरनेटमा खेललिने एक प्रकारको खेल हो। दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले यो अनलाइन गेमको उत्पादन गरेको हो । पब्जीको पूरा रुप प्लेयरर्स अननोन ब्याटल ग्राउण्डस्  (PlayerUnknown’s Battlegrounds) भन्ने हुन्छ।

यो गेम पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको थियो। दुई वर्षबीचमा नै यसको प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ। दैनिक रुपमा करिब ९ करोड मानिस पब्जी खेल्दछन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ ।

आइओएस र एन्ड्रोइड प्लेटफर्ममा मात्र पब्जी २४ करोड भन्दा बढी पटक डाउनलोड भएको छ । सन् २०१८ मा पब्जी गेमबाट कम्पनीले कूल एक अर्ब तीन करोड डलर आम्दानी गरेको तथ्याङ्क छ । पब्जी गेमका मोबाइल प्रयोगकर्तामध्ये साढे २२ करोड चिनियाँ छन् । त्यस्तै अमेरिकी प्रयोगकर्ता ११ प्रतिशत छन्।

पछिल्लो समय पब्जी खेल मोबाइल प्रयोगकर्तामा यतिधेरै लोकप्रिय बनेको छ कि धेरै मानिसहरु यसको लतमै फसेका छन् । खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि विश्वमा उठ्न थालेको थियो।

छिमेकी मुलुक भारत पछि नेपालमा पनि सरोकारवाला विभिन्न निकायको आग्रहमा नेपाल प्रहरी र सरकारले सो गेममा प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेपछि चैत २८ गते बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाइएको थियो।

पब्जी खेलको कुलतका कारण कतिपय व्यक्तिको मृत्यु भएको घटना पनि सार्वजनिक भैसकेका छन् ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here