काँग्रेसमा पठन संस्कृति कस्तो छ ?

0
169

-नारायण सापकोटा-

पौष महिनाको पहिलो हप्ता राजधानीको बढ्दो चिसो मौसमसँगै नेपाली काँग्रेस महासमिति बैठकमा गरम छलफल, विचार, विमर्श र बहस हुन्छ भन्ने आम अपेक्षा थियो । काँग्रेसको ७२ वर्षे जीवन यात्रामा काँग्रेसलाई यहाँसम्म ल्याई पुर्याउन रगत र पसिना बगाउने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मान हुन्छ भन्ने धेरैको विश्वास पनि थियो । महसमितिको दश दिनसम्म लम्बिएको बैठकले अग्रहजको अपमानलाई जोगायो । विधानमा रुमलिदा महासमितिको बैठकले इतिहासमा छोपिएका नेपाली काँग्रेसका विविध पक्षहरुको उत्खनन गरी समीक्षा गर्ने तथा भविष्यको कार्यदिशा निर्माण गर्न भने चुकेको छ । महासमितिको बैठकमा प्रस्तुत भएका प्रस्तावहरुका सम्बन्धमा महासमिति सदस्यहरुले विवेक पूर्णरुपमा मन्थन गरी सर्मथन, आलोचना ,टिप्पणी र आ आफ्ना दृष्ट्रिकोण समेत राख्न पाएनन् ।

यतिबेला धेरै जसो काँग्रेसका सदस्यहरु विचार, वहस भन्दा पनि पद प्रतिष्ठानमा विश्वास राख्ने भएका छन् । महासमितिको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन अन्तर्गत लेखापरीक्षकको प्रतिवेदनमा समावेश नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा रहेको पुस्तकालयमा अवस्था दयानीय छ । नेपाली काँग्रेस गौरवपूर्ण इतिहास भएको पार्टीको केन्द्रीय कार्यालयको पुस्तकालयको यो अवस्थाले नै नेपाली काँग्रेसको वर्तमान जीवनको सजीव चित्र प्रस्तुत गरेको छ ।

यहीबाट देशकै लोकतन्त्रको जननी नेपाली काँग्रेस पार्टीको वर्तमान अवस्था र यस पार्टीले लिएका दर्शन , सिद्धान्त , आर्दश ,नीति, कार्यक्रम तथा व्यवहारको समय सापेक्ष रुपमा निर्मम समीक्षाको प्रारम्भ हुन सक्छ । नेपाली काँग्रेस पार्टी आफैमा लोकतन्त्रको खुल्ला विश्वविद्यालय हो । यो विश्वविद्यालयका विधार्थीहरुले कुन विषयको के अध्ययन गर्ने, के अनुसन्धान गर्ने र कस्तो जीवन संस्कृति अपनाउने भन्ने प्रश्नमा अलमलिएका छन् । अलमलिँदा अलमलिँदै भए पनि यो समय, परिस्थिति र २१ औँ शताब्दीको युगमा काँग्रेसका सदस्यहरुले जसोतसो नेपालमा लोकतन्त्र शब्दको ब्याख्या भने गरिरहेका छन् ।

शब्दमा होइन व्यवहारमा लोकतन्त्र के हो ? २०१२ सालबाट नेपाली काँग्रेसले लिएको आर्थिक नीति तथा कार्यक्रम लोकतान्त्रिक समाजवाद जनताको जीवनसँग कति जोडिन पुग्यो ? वा पुगेन ? भन्ने प्रश्नको उत्तर नेपाली काँग्रेसको केन्द्रीय कार्यालयको पुस्ताकालयले दिइरहेको छ कि छैन ? वास्तवमा भन्ने हो भने लोकतान्त्रिक समाजबादीहरुले किन जीवनमा कहिलै पनि एउटा पुस्तक किनेर पढिरहेका छैन ? अब के साँच्चै लोकतान्त्रिक समाजबादको ब्याख्याबाट जनताको समृद्धिको चाहाना पुरा गर्न सक्छ त ? यो प्रश्नको उत्तर महासमितिको बैठकले सकेन ।

महासमितिको बैठकबाट पारित उपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रस्तावमा अध्ययनशील काँग्रेस गराउने भनिए पनि त्यसको आधार गाउँगाउँमा पुस्ताकालय स्थापना नै हो । गाउँगाउँमा पुस्तकालय स्थापना हुनु जरुरी छ । तर केन्द्रीय कार्यालयको पुस्तकालयको यो अबस्था छ भने के नेपाली काँग्रेसले हरेक स्थानीय तहमा पुस्तकालय निर्माण गर्न सक्ला त ? राजनीतिका दर्शन, सिद्धान्त र आदर्शले जनताको जीवनमा के प्रभाव पर्न सक्छ ? राजनीति दर्शन,सिद्धान्त र आदर्शसँगै महत्वपूर्ण हुन्छ नेता तथा सदस्यहरुको आचरण र व्यवहार पनि । नेपाली काँग्रेसका नेता तथा सदस्यहरुको व्यवहारबाट जनता के सिकिरहेरका छन् वा के सिक्न खोजिरहेका छन् ? जनता नेपाली काँग्रेस पार्टीसँग काहाँ नेर र किन गाँसिनु पर्छ ? किन नेपाली काँग्रेस जनताबाट टाढा हँुदैछ ? यी विषयमा सघन विचार र विमर्श गर्दै निष्कर्षमा पुगेको भए महासमितिको बैठकको सफल हुने थियो । बैठकमा सुरु दिनमा नेपाली काँग्रेसका नेता तथा सदस्यहरु एकले अर्कोलाई दोष दिन पछि परेनन् । लोकतान्त्रिक पद्धतिको भावना र मर्म अनुसार आ आफ्नो जिम्मेवारी बहन गर्न नसक्नु तथा जनतासँग नेपाली काँग्रेसका हरेक सदस्यहरु जिम्मेवार तथा सभ्य रुपमा प्रस्तुत हुनु नसक्नु काँग्रेसको कमजोरी हो । सदस्यहरुलाई उचित मार्ग दर्शन र राजनीतिक संस्कार दिनु पार्टीको पहिलो कर्तव्य हो । के नेपाली काँग्रेसले यस किसिमका आफ्ना कर्तव्य पुरा गर्नु सक्यो ? महासमितिमा यी प्रश्नमा छलफल नै भएन । अध्ययनशील काँग्रेसजनले इतिहासबाट पाठ सिक्नलाई पनि स्थानीय तहमा पुस्तकालय निर्माण गरिनु पर्छ । हरेक वडामा नेपाली काँग्रेसको एक सुव्यवस्थित पार्टी कार्यालयमा आधुनिक सूचना मैत्री वाईफाईसहितको इ लाइव्रेरी स्थापना गर्नु जरुरी छ । नेपाली काँग्रेसका सदस्यहरुले यो हाम्रो पार्टी हो, मेरो पनि पार्टीमा केही जिम्मेवारीहरु छन् र ती जिम्मेवारी पुरा गर्न म सक्षम छु भन्ने भावना विकास गर्नु पर्छ । दुर दराजका जनतालाई विश्व समाजसँग जोड्न र नेपाली काँग्रेसको दर्शन, सिद्धान्त, आर्दश, नीति, कार्यक्रम तथा व्यवहारको खुल्ला बहसमा इ लाइव्रेरीको महत्वपूर्ण भुमिका रहन्छ । जहाँबाट नेपाली जनताले आफ्नो भाग्य आफै निर्माण गर्न सक्नेछन् ।

महासमितिको बैठकमा पार्टी सुद्धिकरणको चर्को रुपमा कुरा उठाउनेहरु कम थिएनन् । नेतृत्व सुध्रिने पनि छैन भन्नेहरु पनि धेरै थिए । बैठक समापनमा नेता रामचन्द्र पौडेलको भावनात्मक सम्बोधनले नेतृत्व माथी उठेको प्रश्न उत्तर थियो । जे भए पनि नेपाली काँग्रेस जनताको बिचमा रहने पार्टी हो । जनतासँग यस पार्टीका सदस्यहरु प्रत्यक्ष जोडिएका छन् । त्यसैले पार्टी सुद्धिकरणको थालनी सदस्य साथीहरुले आफैबाट सुरु गर्न सक्नुपर्छ । केन्द्रीय कार्यालयमा आवश्यक पुस्तकहरु नभए पनि पुस्ताकालय आकारसम्म रहेछ । के जिल्ला पार्टी कार्यालयहरुमा पुस्तकालय छ त ? महासमिति बैठकमा भाग लिन आउनु हुने सम्पूर्ण सदस्यहरुले एकएक वटा आफ्नै गाउँठाउँमा पुस्तकालय निर्माण गर्न पहल गर्नुभयो भने पनि देश भरी १५ सय भन्दा धेरै पुस्तकालय स्थापना गर्नु सक्छन । त्यहीबाट जनतासँग नेपाली काँग्रसले आफ्ना नीति कार्यक्रमलाई जोड्ने कार्य हुन सक्छ । नेपाली काँग्रेसका हरेक क्रियाशिल सदस्यहरुले एक एक वटा पुस्तक पुस्तकालयमा प्रदान गर्नु भयो भने सात लाख पुस्तकहरु जम्मा हुन्छ । पार्टी जनतासँग जोडिनका लागि पनि पुस्तकालय अभियान संचालन गर्नु आवश्यक छ ।

महासमितिको बैठक पछि काँग्रेसले प्रवुद्ध वर्गसँग गरेको अन्तरक्रिया कार्यक्रममा डा. नवराज लम्सालले जोडदार रुपमा पुस्तकालयको निर्माण कुरा उठाउनु भयो । काँग्रेस नेतृत्वले सुन्यो वा सुनेन । अब काँग्रेस वैचारिक र जीवन्त बनाउन काँग्रेसजनमा पठन सस्कृतिको विकाश गर्नु जरुरी छ ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here